Logo
Logo

सुन्दर नङका लागि विशेष हेरचाह


डा. रेखा थापा


सुन्दर हातका लागि सफा र सुन्दर नङको महत्वपूर्ण भूमिका हुन्छ । तर, अन्य कुरामा ध्यान राख्दाराख्दै नङको स्याहार गर्न बिर्सन्छौँ । नङ सुन्दर नहुँदा हात वा खुट्टाको सुन्दरतामा ह्रास आउँछ ।

सफा, सुन्दर र बलियो नङ हामी सबैको चाहना हो । तर, विशेष हेरचाह गर्न नसक्दा वा नगर्दा नङमा विभिन्न समस्याहरु आउँछ । त्यसैले शरीरका अन्य अङ्गहरुजस्तै नङको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

नङ कमजोर भइ समस्या आउने कारणहरु :

शरीरमा पर्याप्त मात्रामा क्याल्सियम, मेग्निसियम, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, बायोटिन आदिको कमीले नङ कमजोर हुन्छ ।

-तनाव, चिन्ता र अन्य भित्रि रोगहरु जस्तै– मुटु रोग, फोक्सोको रोग, मृगौलाको समस्या जस्ता कारणले नङको रङ परिवर्तन हुन्छ ।

– नङमा धेरै केमिकल भएको गुणस्तरहीन पोलिस र अत्याधिक मात्रामा ‘नेल हार्डनर’ प्रयोगले नङ कमजोर हुँदा फुट्ने, टुक्रने र पहेँलो हुने समस्या हुन्छ ।

– पोषणयुक्त खानाको कमिले पनि नङमा समस्या उत्पन्न हुन्छ ।

– धेरै कडा साबुन, डिटर्जेन्ट र केमिकलले नङ कमजोर बनाउँछ ।

रङ परिवर्तन हुने : नङको प्राकृतिक रङ हल्का ‘पिंक’ हो भने विडमा सेतो हुन्छ । तर लगातारको केमिकल, नेल हार्डनर र पोलिसहरुको प्रयोगले पहेँलो बन्न थाल्छ । त्यस्तै, स्मोकिङ, एन्टीवायोटिक पंmगस इन्फेक्सन जस्ता कारणले पनि नङको रङ परिवर्तन हुन्छ ।

टुक्रिने वा चिरा पर्ने : लगातार पानीको काम गर्दा वा कडा डिटरर्जेन्ट प्रयोगले नङ कमजोर भइ भाँचिने, टुक्रिने र बिचमा चिरा पर्ने समस्या हुन्छ ।

फंगस तथा व्याक्टेरियल इन्फेक्सन : फंगस र व्याक्टेरियाका कारण नङमा समस्या आउँछ । एकबाट अर्कोमा सर्नसक्ने इन्फेक्सनले औँलामा पनि समस्या आउन सक्छ । उमेर बढी हुँदै जाँदा यस्तो समस्या धेरै हुन्छ । मधुमेहका बिरामी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई यस्तो समस्याले धेरै सताउँछ ।

नङ धेरै बाक्लो हुने : उमेर बढ्दै जाँदा काट्नै गाह्रो हुनेगरी नङ बाक्लो हुन्छ । विशेषगरी खुट्टाको नङमा यस्तो समस्या आउँछ । धेरै कसिलो जुत्ता लगाउनाले पनि यस्ता समस्या हुने गर्दछ ।

कालो निलो धब्बा बस्ने : सोराइसिस, मेलानोमा एक्जिमा र अन्य संक्रमणको कारणले नङमा कालो निलो धब्बा बस्ने समस्या हुन्छ ।
नङको हेरचाह र सुरक्षा कसरी गर्ने ?

सफा, सुन्दर र बलियो नङका लागि हेरचाहका अनेक उपाय छन् । विशेष हेरचाह गर्न नसकेका कारण नङमा आउने समस्याका पनि धेरै उपचार विधि छन् । प्रस्तुत विधिहरु अपनाएर नङलाई स्वस्थ, सुन्दर र बलियो बनाउन सकिन्छ ।

-नियमित मेनिक्योर गराउनुपर्छ । यसले हात र नङको सुन्दरता बढ्छ ।

– समय समयमा ‘ओलिभ ओयल’मा ‘एरोमा ओयल’ मिसाई नङलाई मालिस गर्नुपर्छ । यसरी मालिस गर्दा क्यूटिकल बलियो हुनुका साथै स्वस्थ हुन्छ ।

– ब्रसको सहायताले नङ सफा गर्नुपर्छ । नङलाई ब्रस गर्दा नङ भित्रको फोहोर जानुका साथै मृत कोषिका हट्छ ।

– समय समयमा ‘क्यूटिकल ओयल’ लगाएर हल्का मालिस गर्नुपर्छ ।

– नङलाई सफा र सुख्खा बनाइराख्नु पर्छ । यसले संक्रमण हुनबाट बचाउँछ ।

– नङलाई समय–समयमा काटेर राम्रो सेप दिनुपर्छ ।

– नङ सफा गर्दा धेरै तातो र धेरै चिसो पानी प्रयोग गर्नु हुँदैन । साधारण मनतातो पानीले सफा गर्दा राम्रो हुन्छ ।

– नरिवलको तेलमा मह मिसाएर नङमा लगाई हल्का मालिस गर्दा नङ बलियो हुन्छ ।

– कागतीको रसमा शुद्ध तोरीको तेल वा जैतुनको तेल मिसाएर लगाउँदा नङमा संक्रमण हुन पाउँदैन र क्यूटिकल बलियो हुन्छ ।

– नङ धेरै कमजोर भए काँचो दुधमा डुबाउने गर्नुपर्छ । दुधमा भएको क्यालसयिम र भिटामिनहरुले नङलाई बलियो बनाउँछ ।

– मनतातो पानीमा ‘सि साल्ट’ मिसाएर १० मिनेट डुबाए मृतकोषिका हटाइ स्वस्थ बनाउँछ ।

– धेरैमा नङ टोक्ने बानी हुन्छ । नङ टोक्ने बानीले नङको सेप बिगार्छ ।

-नङको सेपमा विशेष ध्यान दिनुपर्छ ।

-नङले धेरै प्रेसर दिएर सामान उठाउने, बट्टाको बिर्काे खोल्ने जस्ता कृयाकलापले नङ भाँचिन सक्छ ।

-नङलाई आकर्षक देखाउन ‘वेसकोट’ र ‘टपकोट’ लगाउनुपर्छ ।

-अत्याधिक ‘नेल जेल’ र ‘अक्यालिक’ प्रयोग गर्नुहुँदैन ।

-टी–ट्रि ओयल र भिटामिन–ई मिसाएर हल्का मालिस गर्दा नङमा भएको संक्रमण निको हुन्छ ।

-नङलाई मोइस्चराइज गर्न र सफा राख्न भुल्नु हुँदैन ।

-सन्तुलित आहार र पोषणयुक्त खाना खानुपर्छ ।

प्राकृतिक रुपमा नङमा समस्या हुँदैन । समस्या भएपनि अत्यन्तै न्यून व्यक्तिमा मात्र हुन्छ । तर, हाम्रै गतिविधिका कारण नङमा विभिन्न समस्याहरु हुने गर्दछ । त्यसैले सुन्दर नङका लागि विशेष हेरचाह गर्नुपर्छ । हेरचाहमा ध्यान दिने हो भने नङ सफा, सुन्दर र बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्