Logo
Logo

उपत्याकामा निषेधाज्ञा अब थप हुन्छ कि हुँदैन ?

जारी निषेधाज्ञा आज सकिँदै


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि आज (आइतबार) मध्यरातिबाट सकिँदै छ । अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन ? आम मानसिको जिज्ञासा छ ।

यसबारे अहिलेसम्म यस विषयमा कुनै छलफल हुन नपाएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको भनाई छ । ‘हामी सीडीओबीच पनि कुनै छलफल हुन पाएको छैन,’ उनले भने, ‘अब आज छलफल होला।’

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अब निषेधाज्ञा थपिन सक्ने बताए ।

अहिलेसम्म यसबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने समयसमेत तय भइनसकेको उनको भनाई छ । आज राति १२ बजेबाट निषेधाज्ञा अवधि सकिने भएकाले आज छलफल गरिने उनको अनुमान छ ।

यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा निर्णय गर्ने गरिएको थियो । कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको हो । निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ ।

तर कोरोना संक्रमणदर भने बढ्न थालेको छ । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

“खुकुलो भएसँगै सङ्क्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ”, उनले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।”

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।

सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्