Logo
Logo

बाहुबली मोह र एमालेको भविष्य


एमपी सुब्बा


नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न एकथरी जोडबल गरिरहेका छन् । अर्कोतिर एमालेमै बाहुबली मोह बढेको छ । विशेषगरी एमालेमा दोस्रो तहका नेताहरु एकता चाहन्छन् । र, शीर्ष नेताबीच वार्ता गराएर सहमति गराउन तल्लीन छन् ।

पार्टीमा स्पष्ट रुपमा देखिएको ओली पक्ष र माधव पक्ष यतिखेर वार कि पारको अवस्थामा छन् । यसैबेला धमाधम युवादस्ता ब्यूँताइएको छ । जसले एकताभन्दा पार्टीमा विग्रह निम्ताउन सक्छ ।

विवाद चरमोत्कर्षमा पुगेका बेला विवाद निरुपण गर्न कार्यदल बनेको थियो । र, कार्यदलले एकताका लागि प्रयास जारी राखेकै बेला अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी कार्यदल खारेज गरे । तैपनि, कार्यदल एकताकै पक्षमा रहेर छलफल जारी राखेका छन् । तर, पछिल्लो गतिविधिले एकता होइन, मुठभेड र फुटको संकेत झल्काउँछ किनकि, युवादस्ता ब्यूँताएर बाहुबलीशैलीमा उत्रिनु एकताको लागि सकरात्मक हुन सक्दैन ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट आक्रोशित अध्यक्ष ओली पक्षले असार २९ मा ‘युथ फोर्स’ ब्युँतायो । युवा संघका इन्चार्ज महेश बस्नेतले पत्रकार सम्मेलन गरेरै ‘युथ फोर्स’ ब्युँताउँदै ओलीविरोधी नेताहरुमाथि खनिए । त्यसलगत्तै ‘युथफोर्स’लाई काउन्टर गर्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ‘अखिल फोर्स’ घोषणा गर्यो ।

असार ३१ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा गठन गरिएको ‘युथफोर्स’लाई काउन्टर दिनु हो । र, साउन ५ गते एमाले नेता प्रभु साहको सक्रियतामा ‘आईटी आर्मी’ घोषणा भयो । यो पनि प्रतिकात्मक दस्ता हो । त्यस्तै, नेता नेपाल पक्षबाटै साउन ७ गते ‘पिलुल्स भोलेन्टियर’ घोषणा गरिएको छ । भोलेन्टियरको अध्यक्षमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री छन् । यसको उद्देश्य पनि युथफोर्सलाई काउन्टर दिनु नै हो ।

एमाले एकताको प्रयास भइरहेकै बेला आतंक फैलाउन युवादस्ता ब्यूताउँने होड चलेको छ । केपी–माधव दुवै पक्ष ‘बाहुबली मोह’मा फसेका छन् । यसले एमाले नेतृत्व वैचारिक रुपमा पतन भइसकेको संकेत गर्छ ।

पार्टी एकताको प्रयास भइरहेकै बेला यस्ता युवादस्ता ब्यूताउँने होड चल्नुले दुवै पक्षको बाहुबली बन्ने मोह देखिन्छ । पार्टी एकताका लागि कार्यदलबीच १० बुँदे सहमति भइसकेको अवस्थामा युवादस्ता तयार गर्ने होडले एमाले एकतामा तातोपानी खन्याउने काम गरेको छ । यतिमात्रै होइन, एमाले आफैमा मुटभेडतिर धकेलिने खतरा बढाएको छ ।

शनिबार युथ फोर्सको ‘भ्याली कमाण्ड’ घोषणा कार्यक्रममा एमाले नेता तथा सांसद महेश बस्नेतको भनाइले पनि त्यही संकेत गर्छ । उनले भने, ‘हामीमाथि कसैले आक्रमण गर्यो भने, हाम्रा नेता तथा कार्यकर्तामाथि कसैले षडयन्त्र गर्यो भने, कसैले धावा बोल्यो भने हामी शान्तिपूर्ण तरिकाले सम्झाउँछौँ । मुखले सम्झाउँछौं । मलाई लाग्छ, मुखले सम्झाउँदै काफी हुन्छ ।

यदि मुखले सम्झाउँदा मानेनन् भने हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ ।’ कार्यक्रममा नेता बस्नेतले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, विभिन्न पार्टीका नेताहरु, बौद्धिक समूह, मिडियाकर्मी लगायतलाई धम्कीको भाषा बोल्दै भने, ‘प्रतिरोध गर्छौं’ र ‘तह लगाउँछौं ।’

एमालेमा यस्ता बाहुबली संगठनको घोषणा गर्नेक्रम सुरु भएपछि एकथरी चिन्तित हुन थालेका छन् । जो सधैँ पार्टी एकताको पक्षमा छन् । कुनै समय राजनीतिक भिडन्त र आतंकको कारण आलोचित बनेको ‘युथ फोर्स’लाई पुनः ब्युँताइएपछि पार्टी एकतालाई असर गर्ने उनीहरुको विश्लेषण छ ।

पार्टी एकता हुनै लाग्दा यस्ता युवादस्ता पुर्नगठन गर्नुको कुनै औचित्य छैन । त्यस्तै, एकताका लागि कार्यदलबीच १० बुँदे सहमति भइसकेर पनि अध्यक्ष ओलीले नेपाल पक्षविरुद्ध विषवमन गर्न छाडेका छैनन् । र, नेपाल पक्षले पनि ओलीको काउन्टर गर्दै आएको छ ।

बालुवाटारबाट नीजि निवास बालकोट पुगेर ओलीले जब ‘माधव पक्षको गल्ती र कमजोरीलाई माफ गर्ने ठाउँ नै छैन’ भने, तब युवादस्ता ब्यूँताउन थालियो । एमालेमा यस्तो अवस्थामा युवादस्ताको जन्म र पुनःजन्म भइरहेको छ, जतिबेला पार्टी केन्द्र लथालिंग छ । अध्यक्ष ओली र माधवकुमार नेपालले नेतृत्व गरेका एमालेका दुई समूह छुट्टिने कि जोडिने भन्ने अन्योलमा छ । यस्तो बेलामा सडकमा उत्रिएर एमालेको परिचय दिन अग्रसर भएका छन्, ‘बाहुबली’ संगठनहरु ।

युथ फोर्सले माधव नेपालको पुत्ला जलाउनेजस्ता उत्तेजक गतिविधि गर्न थालेका छन् । जसले राजनीतिक रुपमा ओलीले लिएको बाटो पराजित भाव झल्काउँछ । सडकमा यस्ता फोर्सहरु देखिन थालेपछि कार्यदलसमेत अन्योलमा परेको छ ।

सडकमा देखिएका फोर्सहरुसँग राजनीतिक नारा र मुद्दा छैन । होहल्ला गर्ने शैली पुरानै हुन् । अझै बाँदरको भेषमा समेत आफ्नै नेताविरुद्ध प्रदर्शन गर्न थालिएको छ । जसको समाजिक सञ्जालमा कडा आलोचना मात्र भएन ‘ट्रोल’समेत बन्यो ।

युवालाई सडकमा ‘बाँदर’ बनाएर प्रदर्शन गर्न लगाइएकोमा एमालेकै नेताहरुले कडा आलोचना गरे । त्यही दिन एमाले नेतृ अष्टलक्ष्मी शाक्यले असन्तुष्टि पोख्दै भनिन्, ‘मलाई चिन्ता लागेको छ । कस्तो संस्कार हामीले हुर्कायौँ ?’ उनले यस्तो काम कम्युनिष्टले गर्न नसक्ने टिप्पणी गरिन् ।

‘एउटा कम्युनिस्ट पार्टीको नेतृत्व र त्यसको निर्देशनबाट ती युवाहरु विचारका थिए, देशको लागि केही गर्न चाहने अध्ययनशील थिए, सिर्जनात्मक थिए । तर, बाँदरको रुप बनाएर सडकमा पछार्ने काम भयो । यो काम कम्युनिस्ट आन्दोलनको गलत नेतृत्वबाट भइरहेको छ’, उनको भनाइ थियो ।

‘हामी देखाइदिन्छौँ’ भन्दै भाषण र व्यवहार गर्ने यस्ता संगठनका कारण एमालेले लामो मेहनतबाट आर्जन गरेको लोकतान्त्रिक छविमाथि प्रश्न उठेको छ । हुन त यस्ता संगठन घोषणा गर्ने बेलामा आदर्शवादी संगठनको रुपमा प्रस्तुत गर्ने गरिन्छ । शनिबार भ्याली कमाण्ड घोषणा कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले भने, जनतालाई कसैले आतंक खडा गर्यो भने ती दस्ताले काम गर्नुपर्ने निर्देशन दिँदै उनले जनतामाथि हिंसा थोपर्न खोज्यो भने खबरदारी गर्न युथफोर्स गठन गरिएको दावी गरे ।

अनेरास्ववियुको नेतृत्व गरिसकेका एमाले नेता योगेश भट्टराईले अराजनीतिक चरित्रका यस्ता संगठनहरु तत्काल खारेज गर्नुपर्ने बताएका छन् । युवादस्ता गठन गर्ने होड चलेपछि उनले फेसबुकमा लेखे, ‘ऐतिहासिक र गौरवशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन, क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक र वैचारिक शिक्षामार्फत् पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्¥याएका अनेरास्ववियु र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथफोर्स, अखिल फोर्सको औचित्य के छ ?’

समाजमा आतंकको आभास दिने र युवालाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नुपर्ने उनको तर्क छ । युवादस्ता गठनप्रति एमालेजनले मात्र नभएर आम सर्वसाधारणले समेत प्रश्न गरिरहेका छन् ।

शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिनेजस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको एमालेका लागि यस्ता गतिविधि सकारात्मक हुन सक्दैन । तर, नेतृत्वले युवापुस्तालाई त्यही सिकाइरहेको छ । र, यहीबाट थाहा हुन्छ एमालेको भविष्य कतातिर जाँदैछ ?

प्रतिक्रिया दिनुहोस्