Logo
Logo

रिक्तता-कविता


वसन्त लोहनी


देश नरहे पनि प्रदेश रहन्छ
केश नरहे पनि अवशेष रहन्छ
आन्दोलन नै आन्दोलित छ
व्यक्ति सिध्याउन खोज्दा
मुलुक नै सिध्याइदैछ
मालिकहरू रिझाउन खोज्दा

सत्यबाट असत्य यति धेरै जन्मिसके
के सत्य ? केही असत्य ??
सब दिग्भ्रमित
जसले बेच्न सक्यो उसको पिठो बिक्ने
मान्छे आउने होइन जम्मा गर्ने हो
यन्त्र बस चल्ने जमात बनाउने हो
यस्तै जमातलाई कपडछान गरेर
बनेको बदलिँदो बिजुली गारत
र, त्यसको तागतमा बस्ने बैठक
त्यस्ता बैठकमा गरिएका मञ्चन
निर्णय बनेका छन् जनजीविका रूपान्तरणका

तर जनजीविका पर जीविका बने
रूपान्तरण भयो नौटंकीबाजहरूको
‘बार्दली–चोकको संवाद’ गर्ने भए ती
आफ्नो आबादी, जनताको बरबादी
यो नै बन्यो राजनीति आज
जताततै भङ्गालै भङ्गालोहरू
कहाँ छ मूल प्रवाह ?
त्यसैले–
हामी बाचेका छौ त्यो रिक्ततामा
जुन कहालीलाग्दो हुँदैछ
सत्य र असत्य बिच बढ्दो फासलाभित्र

प्रतिक्रिया दिनुहोस्