Logo
Logo

विश्वकप छनोटको पहिलो खेलमा नेपालको सानदार जित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ चैत ।
आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । सिंगापुरलाई नेपालले २ सय १७ रनको बिशाल अन्तरले हराएको हो । २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा ६५ रनमै अलआउट भएको हो ।


जितका लागि ब्याटीङ र बलिङ दुवै तर्फ नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
नेपालका लागि पवन सर्राफले तीन तथा कुशल मल्ल र सूर्य तामाङ २÷२ विकेट तथा रसिद खानले एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।
मलेसियामा जारी खेलमा टस जितेको सिंगापुरले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा २ सय ८२ बलमा अलआउट भएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको योगदान दिए। शतक बनाउन ५ रनले चुकेका उनले १ सय ५ बलमा ७ चौका र १ छक्का हिर्काए। त्यसअघि पवन सर्राफले ४७ रनको योगदान दिँदा रासिद खानले ४८ रन बटुले। भीम सार्कीले २६ र कमलसिंह ऐरीले ३१ रनको योगदान दिए।

४५ ओभरसम्म राम्रो स्थितिमा रहेको नेपालले ४६ ओभरमा ३ विकेट गुमाएको थियो। यो ओभरमा कप्तान पौडेल पहिलो बलमा आउट हुँदा कमलसिंह ऐरी पाँचौ र सूर्य तामाङ छैटौं बलमा आउट भएका थिए।
सिंगापुरका लागि एकै ओभरमा ३ विकेट लिएका अर्थव गुनेले ४ विकेट लिए भने विनित मेहता र राउल शर्माले २÷२ विकेट लिए।
प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्