Logo
Logo

राष्ट्रपति भण्डारीलाई बेइजिङमा भव्य स्वागतको तयारी, महत्वपूर्ण सम्झौता हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ चैत ।
गणतन्त्रपछि पहिलोपटक छिमेकी देश चीनले नेपालका राष्ट्रप्रमुखलाई औपचारिक रुपमा स्वागत गर्ने भएको छ । बिआरआई फोरमको सम्मेलनको अवसरमा चीनले पहिलोपटक नेपालका राष्ट्रपतिलाई औपचारिक भ्रमणमा बोलाएको छ ।


१३ र १४ वैशाखमा हुन लागेकोमा सम्मेलनमा राष्ट्रपति भण्डारी १० गते चीन जाने तयारुी छ । भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल बताउँछन् ।
राष्ट्रपति भण्डारीले सम्मेलनलाई संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनपछि जारी हुने संयुक्त वक्तव्यको तयारीमा नेपाली अधिकारी पनि सोमल हुनेछन् ।
राष्ट्रपतिले सम्मेलनलाई सम्बोधन गर्ने, चीनका राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । त्यही मौकामा दुई देशबीच तयार भएको पारवहन सम्झौतासम्बन्धी प्रोटोकलमा हस्ताक्षरसमेत हुनेछ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा जान लागेकी राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र सचिव शंकरदास बैरागीसहित वाणिज्य, उद्योग, भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयका अधिकारी हुनेछन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित ४० देशका राष्ट्रप्रमुख÷सरकारप्रमुख सहभागी हुनेछन् । बिआरआईको पहिलो सम्मेलन ३१ वैशाखदेखि १ जेठ ०७४ मा भएको थियो । बिआरआई सम्मेलनमा नेपालको शीर्षस्थ उपस्थिति पहिलो हो ।
‘वैशाख १४ मा संयुक्त वक्तव्य जारी हुनेछ र यो वक्तव्य तयारीका सिलसिलामा यसपटक नेपाल पनि सहभागी छ,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले भने, ‘संयुक्त वक्तव्यका लागि वार्तामा हामी पनि सहभागी हुने अवसर यसपटक आएको छ । विगतमा नेपालको उच्चस्तरीय सहभागिता नहुँदा यो अवसर पाएको थिएन ।’ पारवहन, कनेक्टिभिटी, बहुआयामिक सीमापार हिमालय कनेक्टिभिटी नेटवर्कबाट नेपालजस्ता मुलुकलाई हुने फाइदाबारे धारणा राख्ने नेपालको तयारी छ ।
नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको छ । लम्सालका अनुसार सम्मेलनले बिआरआई र यसअन्तर्गतका परियोजना समग्रमा अगाडि बढाउने चिनियाँ दृष्टिकोण र अन्य मुलुकको दृष्टिकोण मिलाएर भावी बाटो तय गर्नेछ ।
बिआरईमा आबद्ध भएपछि चीनसँग ढल्किएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् । तर, त्यसबाट नेपाललाई फाइदा रहेको विश्लेषकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्