Logo
Logo

ओलीको व्यङ्ग्य ओलीलाई- ‘मलाई सत्ताको लोभ छैन’


नवीन राई


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समय अघिसम्म सत्ता जोगाउन अनेक गरे । आफैले दुत्कार्दै आएको नागरिकतासम्बन्धी विधेयक ल्याउनसम्म पछि परेनन् । कहिले मन नपराएका राजेन्द्र महतोहरुलाई सरकारमा भित्र्याए । यी सबै कदम ‘प्रधानन्त्री पद’ जोगाउनकै लागि थियो ।

केपी शर्मा ओली सत्ताका लागि कति लोभी छन् भन्ने त लोकलाई थाहा छ । संसदमा विश्वासको मत गुमाएपछि पनि अनेक तिकडम गरेर प्रधानमन्त्री बनिरहे । तर, उनै ओलीले मंगलबार भने ‘आफू प्रधानमन्त्रीका लागि नजन्मेको’ भन्दै दुनियाँलाई चकित बनाए ।

ओली वैधानिक रुपमा दुईपटक प्रधानमन्त्री भइसके जालझेलमा प्रधानमन्त्री बनेको गन्ती गर्दा चार हुन्छ । उनै ओलीले ‘म प्रधानमन्त्री बन्न जन्मेको होइन’ भन्दा कसले पत्याउने ? तर, मंगलका ओलीले भनिदिए- ‘म प्रधानमन्त्री बन्न जन्मिएको होइन, जनताको पक्षमा काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ ओलीले ‘म सत्ताकै लागि लोभी होइन’ भन्न खोजेका हुन् । तर, पत्याउने पो कसले ?

केही समय अगाडिसम्म सत्ता जोगाउन अनेक गरेको केपी शर्मा ओलीले ‘मलाई सत्ताको लोभै छैन’ भन्दा कसले पो पत्याउने ? गफै त हो नि सम्धीज्यू !

सत्ताका लागि ओली कत्ति लोभी छन् भन्ने त केही समय अगाडिको घटना सम्झदा मात्र पुग्छ । केपी ओली मधेस मुद्धामा कहिले पनि सकारात्मक थिएनन् । अब भए बेग्लै कुरा । मधेस मुद्धामा प्रखर राजेन्द्र महतो त ओलीका ‘परम शत्रु’ नै भइगए ! तर के गर्नु ? मान्छेका अनेक बाध्यता हुन्छन् । बाध्यतामा ओलीका लागि महतो पनि ‘परम मित्रु’ भइदिए ! सत्ता जोगाउन जनता समाजवादी पार्टीका नेता महतोलाई उपप्रधानन्त्री बनाए । सत्ता जोगाउन मधेस आधारशीला भएको जसपाको टेको समाए ।

भन्दा भने जस्तो हुन्छ । तर भन्न मन लाग्यो । ओलीका लागि मधेसी नागरिक नेपाली नभएर भारतीय हुन् ! जुजुबाजे नेपालमै जन्मेर पनि नेपाली नागरिकता नपाएका पनातीहरु ओलीले भारतीय नै भनिरहे । नत्र उनीहरुलाई नागरिकता दिनुपर्छ भन्ने कुरामा ओलीले ‘विस वमन’ गर्नुपर्ने थिएन ।

नागरिकतासम्बन्धी विधेयक ओलीकै कारण धेरै वर्ष रोकियो । धेरै ठाउँमा उक्त विधेयकलाई ओलीले राष्ट्रघात भन्दै आएको त कतै लुक्दैन क्यारे ! उनै ओलीले प्रधानमन्त्री पद जोगाउन नागरिकतासम्बन्धी विधेयक ल्याए । केही दिन सत्ता पनि जोगियो । अनि उनै ओलीले मलाई सत्ताको लोभ छैन भन्दा पत्याउनु पर्ने होर ? अह पत्याइन्न !

हुन त नेता अनेक बोल्छन् । तर, अरु नेता ओली जति होइनन् । ओली यस्ता नेता हुन जो प्रधानन्त्री हुँदा कोरोना केही होइन भन्थे । ओलीले कोरोना केही होइन भन्दा भन्दै १० हजार भन्दा धेरैको मृत्यु भइसक्यो ।

ओलीले नै नेपाली ध्वजावहाक रेल र पानी जहाज गुडाए, ओलीले नै घर–घरमा ग्यासको पाइपलाइन पुर्याए । ओलीले यस्ता काम कति गरे-गरे तर यो सव भन्ने कुरा न हो । गफै त हो सम्धी भने झै !

प्रतिक्रिया दिनुहोस्