Logo
Logo

माधवहरू एमाले होइनन्, एमालेमा ठाउँ छैन


कर्ण थापा- नेता नेकपा एमाले


काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुग्दा दुवै समूह आ–आफ्नै गतिविधिमा केन्द्रित छन् । यसले पार्टी एकताको माहोल झनै बिग्रदै गएको छ । एमाले विवाद समाधान सम्बन्धमा अध्यक्ष केपी शर्मा ओली समूहले के सोचिरहेको होला ? ओली समूहका नेता कर्ण थापासँग ‘एमाले एकताको विन्दु’ पेरिफेरिमा दृष्टिन्यूजका सन्तोष साहले गरेको कुराकानी प्रस्तुत छः

– पार्टी एकता गर्ने भन्नु हुन्छ तर किन हुदैन ?
पार्टी एकताका लागि १० बुँदे सहमति भइसकेको छ । माधव नेपालहरूले पहिले जे–जे शर्तहरू राखे त्यो सबैको सारांश १० बुँदे सहमतिमा आइसकेको छ । १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीको बैठक बोलाउँदा उहाँहरू आउनुभएन । छुट्टै केन्द्रीय कमिटीको बैठक भनेर बस्नु हुन्छ । एउटै पार्टी भन्ने तर अध्यक्ष, महासचिव विना छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने ? यो मिल्ने कुरा होइन ।

पार्टी एकताको नाममा पार्टीलाई कमजोर बनाउने, पार्टीलाई शिथिल बनाउने, पार्टीलाई गतिहीन बनाउने षड्यन्त्र हो । माधव नेपाल पार्टी एकताको पक्षमा छैनन् । विभिन्न वहानाबाजी गर्ने, विभिन्न सर्तहरू राख्ने र एमाले भित्रै द्वन्द्व सृजना गर्ने, नेता कार्यकर्तामा निराशा पैदा गराउने काम उहाँबाट भएको छ ।

विधिमा नबस्ने, अनुशासनमा नबस्ने, पार्टीको निर्णय नमान्ने, पार्टीको नेतृत्व नमान्ने, नेतृत्वको बदनाम गराउने, विपक्षीसँगको साठगाँठ गर्ने र आफ्ना अध्यक्ष हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउने काम नेपालबाट भएको छ । यसरी एमाले एक हुन सक्दैन । पार्टी बन्दैन ।

– एकताको कुरा के विषयमा अड्केको हो ?
केहीमा अड्केको छैन । पार्टी अगाडि बढिसक्यो, पार्टीका काम अगाडि बढिसके । केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतको बैठक बस्दै महाधिवेशनको तयारीमा पार्टी अगाडि बढिसक्यो ।

विधान अधिवेशनका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल चलेर विधान संशोधन प्रस्ताव अघि बढिसक्यो । पार्टी निर्माणको काममा हामी अगाडि बढीसकेका छौं । माधव नेपालहरूकै कारण पार्टीका काम रोकिदैन । एकताका लागि हामी हदैसम्म लचक भइसकेका छौंँ । यो भन्दा लचक हुने ठाउँ छैन । एकतावद्ध हुन गर्नु पर्ने काम हामीले केही बाँकी राखेका छैनौं ।

– एकताका लागि तपाईहरूको ‘बटमलाइन’ के हो ?
हाम्रो बटमलाईन भनेको १० बुँदे सहमति नै हो । दुवै तर्फका नेता सहभागी कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यन्वयन गर्दै एकता कायम गर्ने नै हाम्रो ‘बटमलाइन’ हो । पार्टी केन्द्रीय कमिटीले समेत त्यसलाई स्वीकार गरिसक्यो । अनुमोदन गरिसकेको छ । हाम्रो छुट्टै बटमलाईन केही पनि छैन ।

१० बुँदे सहमति माधव नेपाल पक्षका नेता समेत सम्मिलित कार्यदलले तयार परेको हो । तर, १० बुँदेपछि समान हैसियतको अध्यक्ष चाहियो भन्नु भएको छ । त्यो कुन विधान अन्तर्गत सम्भव छ ? कुन विधि अन्तर्गत पर्छ ? हामी महाधिवेशन गर्दै छौं, नेतृत्व त महाधिवेशनबाट चुन्ने होइन र ? विधि विधान मिचेर ‘केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ’ भन्न मिल्छ ? यस्तो अडानले पार्टी एकता हुन सक्दैन ।

पार्टी एकताका लागि पहिलो शर्त के हो भने– माधव नेपालले विपक्षी गठबन्धन छोड्नुपर्यो । समानान्तर गतिविधि छोड्नुपर्यो । माधव नेपाल वरिष्ठ नेता हो भने अध्यक्षको मातहतमा बस्नु पर्यो, अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो, त्यो बैठकमा सहभागी हुनुपर्यो । होईन र ? अनि पार्टीले जे निर्णय गर्छ, त्यो मान्नुपर्यो । तर, यहाँ मान्छेलाई झुक्याउने, पार्टीलाई शिथिलिकरण गर्ने र विभिन्न बाधाव्यवधान सृजना गरेर केही मान्छेलाई आफ्ना पक्षमा पार्ने र जसरी भए पनि पार्टी फुटाउने खेल उहाँबाट भइरहेको छ ।

यहाँ त केपी ओलीलाई समाप्त गर्ने र एमाले कब्जा गर्ने षड्यन्त्र भएको छ । एमाले कब्जा गर्ने दाउ हो । शेरबहादुर देउवा र प्रचण्डसँग साठगाँठ गरेर पार्टी पंक्तिलाई कमजोर बनाउने काम भएको छ । यो कुनै पनि हालतमा ठीक होइन ।

– पार्टी एकताको विन्दु के हो ?
पार्टी एकताको विन्दु भनेको पार्टी नेतृत्व मान्ने, पार्टीका नीति मान्ने, पार्टीले गर्ने निर्णय कार्यान्वयन गर्ने र पार्टीको हितमा काम गर्ने हो । माधव नेपालहरूले अहिले त्यो गरिरहनुभएको छैन । त्यो नगर्ने हो भने एमालेको नाममा कुनै पनि गतिविधि गर्न पाउने छैन ।

उहाँहरू आजको दिनमा एमाले होईन । एमाले हुने हो भने एमालेमै आउनुपर्यो नि । हामीले भनिसकेका छौंँ । आफूलाई एमाले भन्ने तर प्रचण्ड र शेरबहादुरसँग साठगाँठ गर्ने ? को हुन् प्रचण्ड र शेरबहादुर ? एमाले त होईनन् । सार्वजनिक रूपमा देखिएको कुरा त यही नै हो । एमाले हो भने एमाले पंक्तिसँग पो छलफल र सल्लाह गर्नुपर्ने हो नि । एमाले केन्द्रीय कमिटी, स्थायी कमिटीको बैठकमा उहाँहरू किन नआएको ?

अब के हुन्छ भने– माधव नेपालको हकमा मात्रै नभई अरुका हकमा समेत लागु हुने गरी जो–जो पार्टीको निर्णयभन्दा बाहिर जान्छन् ति एमाले हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्