Logo
Logo

केपी ओली पदमा बस्न लायक छैनन्


जगन्नाथ खतिवडा, नेता, नेकपा एमाले


काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा छ । एकताको प्रयास गरिरहेको भनेपनि केपी ओली पक्षले अडान नछोड्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । दुवै समूह आ–आफ्नै गतिविधिमा केन्द्रित रहँदा पार्टी एकताको माहोल थप बिग्रदो छ । विवाद समाधान सम्बन्धमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको अबको रणनीति के हो ? नेपाल समूहका नेता जगन्नाथ खतिवडासँग ‘एमाले एकताको विन्दु’ पेरिफेरिमा दृष्टिन्यूजका सन्तोष साहले गरेको कुराकानी प्रस्तुत छः

– पार्टी एकता गर्ने भन्नु हुन्छ तर किन हुँदैन ?
गत २२ साउनमा बसेको हाम्रो पक्षको केन्द्रीय कमिटी बैठकको निष्कर्ष के हो भने– ‘केपी ओलीलाई पार्टी एकताका लागि एक अवसर प्रदान गर्ने ।’
एमाले एक बनाउने कि विभाजन गर्नेे ? भन्ने बारे निर्णय गर्ने अवसर हामीले ओलीलाई दिएका थियौं । पार्टी कब्जा गर्ने कि सबैको साझा बनाउने भन्ने कुरा अहिले पनि ओलीकै हातमा छ ।
तर, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा ओलीहरूबाट विधान संशोधन प्रस्ताव लगायतका विषयमा जे काम भएको छ त्यो हुनुहुँदैन थियो । पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ भन्ने सुझाव अहिले पनि हाम्रो हो ।

– एकताको कुरा के विषयमा अड्केको हो ?
पार्टी एकतावद्ध गर्ने चाहना केपी ओलीसँग छैन । जसरी भए पनि पार्टी कब्जा गर्ने र आफूखुसी हिँड्ने उनको दम्भका कारण पार्टी एकतावद्ध हुन सकेको छैन । एकताका लागि छलफल गरेर अगाडि बढ्ने प्रयास गर्दा ओलीहरू हाम्रो केही माग सम्बोधन गर्नसमेत अनाकानी गरिरहेका छन् । छलफल गरेर माग सम्बोधन गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्ने हाम्रो प्रस्ताव पनि उनीहरूलाई पचेको छैन । पार्टीलाई जसरी पनि विभाजन गरेरै अगाडि बढ्ने नीति ओलीको छ । उहाँको अनिच्छामा नै पार्टी एकताको विषय अड्केको हो ।

– एकताका लागि तपाईहरूको ‘बटमलाइन’ के हो ?
हाम्रो विश्लेषण के हो भने केपी ओली पदमा बस्न लायक पात्र होइनन् । पार्टीलाई एकतावद्ध बनाउने स्थितिमा माधवकुमार नेपाल र ओलीको संयुक्त हस्ताक्षर चल्ने समान हैसियत नै हाम्रो माग हो । यो विषयमा ओलीको धारणा मागेका थियौैं । आधिकारिक धारणा त आएन । तर, उहाँले सर्वजनिक कार्यक्रमबाट जे भन्नु भएको छ त्यो ठिक छैन । पार्टीका नेताको मानमर्दन गरेर पार्टी एकता हुन सक्दैन ।

अझै पनि पार्टीलाई एकतावद्ध बनाउने कि नबनाउने ? भन्ने ओलीकै हातमा छ । बेला घर्किन लागिसक्यो । ओली र उहाँ निकटका नेताहरुले अब के गर्ने ? भन्नेबारे निर्णय गर्नु पर्ने बेला भएको छ । त्यो निर्णय सकरात्मक प्रकृतिको हुनेमा हामी आशावादी छौं । तर, विश्वस्त हुन सकिँदैन । यदि, ‘हामी यो कुरा लागु गर्दैनौं’, ‘हामी पार्टी नै कब्जा गरेर अगाडि बढ्छौं’ भन्ने उहाँलाई लागेको छ भने पार्टी एकताको बाटो समाप्त हुन्छ ।

– विधान मै नभएको दुई अध्यक्ष कसरी हुन्छ ?
हामीले सुरुदेखि नै विधान अनुसार काम गरौं भन्दै आएका छौं । बारम्बार विधान विपरीत काम गर्दै आउने त उहाँहरू होे । विधान पालना गरौं, विधि अनुसार नै बैठक बसाउनुस्, निर्णय गर्नुस् भनेर हामीले भनेकै हो । पार्टीको निर्णय नै सर्वोपरी हो, पार्टी निर्णय हामी कार्यान्वयन गर्छौं भनेकै छौं । तर, जब पार्टीलाई किनारा लगाएर व्यक्तिबाट निर्णय गर्न थालियो, स्वच्छेचारिता बढ्यो । विरोध पनि त्यहीबाट सुुरु भएको हो ।

पार्टी विधि र विधानमा चलाउनु पर्छ भन्दा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो । प्रतिगमनको मतियार हुनुभयो । उहाँलाई नियन्त्रण गर्न हामीले संघर्ष गर्नुपर्यो । केपी ओलीबाटै समानान्तर कमिटी बन्न सुरु भयो । के त्यो विधानसम्मत थियो त ? उहाँले आजसम्म जति निर्णय गर्नु भयो ति सबै विधान विपरीत होइनन् र ?

विधानमै समस्या हो भने विधान अधिवेशनबाट संशोधन गर्न सकिन्छ । उहाँहरुले विधान संशोधन गर्दै हुनुहुन्छ क्यारे ? एउटा व्यक्तिलाई शर्वशक्तिमान बनाउन विधान संशोधनका लागि तयार हुनेहरू पार्टी एकताका लागि विधान संशोधन गरेर समान हैसियतको अध्यक्ष बनाउन के कुराले रोक्छ ? तर, उहाँहरु तयारै हुनुहुन्न ।

– त्यसो भए, तपाईहरूले नयाँ पार्टी गठन गर्ने हो ?
पहिलो कुरा पार्टी एकता नै हाम्रोे प्राथमिकता हो । हाम्रो छलफल र बैठकको निष्कर्ष पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने हो । कम्युनिष्ट पार्टीको कार्यकर्ता र संविधान निर्माताको रूपमा हामीसँग दुईटा महत्वपूर्ण जिम्मेवारी छन् । एउटा देश, संविधान तथा लोकतन्त्रको रक्षा गर्नु र प्रतिगमन हुने सम्भावनाबाट रोक्नु नै हो ।

पार्टीभित्र पनि प्रतिगमन भईरहेको छ । आन्तरिक प्रतिगमन रोक्ने हाम्रो जिम्मेवारी हो । पार्टीलाई दक्षिणपन्थी, अवसरवादले ग्रस्त बनाएको छ । पार्टीलाई विसर्जन गर्ने दिशा रोजिएको छ । यो सबै काम केपी ओलीको नेतृत्वमा भईरहेकोले हामी संघर्ष गरेर यसलाई पनि रोक्नुपर्ने जिम्मेवारीमा छौं ।

यदी केपी ओली ‘पार्टीलाई एकताबद्ध हुनै दिन्न, पार्टीलाई कब्जा गरेर भाँडभैलो नै मचाउँछु’ भन्ने हिसाबले अगाडि बढ्नुभयो भने हामीले पनि विचार गर्नुपर्ने हुन्छ ।

– केपी ओलीले माधव नेपाललाई ‘एमालेमा ठाउँ छैन’ भनिसके नि !

गाली गर्ने उहाँको शैली नै हो । अर्कालाई प्रहार नगरी उहाँलाई चितै बुझ्दैन । उहाँको यही शैलीले हाम्रो चित्त दुखेको हो । आफ्नै शैलीका कारण ओलीले विश्वास गुमाउँदै गएका हुन् । ओली जसरी तल्लो स्तरमा आएर गालीगलौजमा उत्रेका छन् त्यो ठिक छैन । अहिलेको अवस्था के हो भने गाली र अपमान सहेर भए पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्ने छ ।

अर्को कुरा, एमाले कसैको विर्ता होइन । केपी या माधवको पेवा होइन । यो पार्टी लाखौं शुभेच्छुक र हजारौं कार्यकर्ताको रगत र पसिनामा स्थापित पार्टी हो । यहाँ कसैलाई ठाउँ छ या छैन भन्दा पनि विधि विधान विपरीत गतिविधि गर्ने चाहिँ कसैलाई पनि ठाउँ हुँदैन ।

– सरकारमा कहिले सहभागी हुने ?
हामी पार्टीलाई एकतावद्ध बनाउने अभियानमा छौं । पार्टीलाई एकतावद्ध बनाउने अभियानमा लागेका कारण हामी सरकारमा जादैनौं । तर, पार्टी एकतावद्ध भएन भने सरकारमा जाने बाटो हाम्रो लागि खुला नै छ ।

– पार्टी एकताको विन्दु के हो ?
नवौं महाधिवेशनबाट प्राप्त शक्ति सन्तुलनलाई जीवित राख्दै अहिलेको अवस्थामा सबै निर्णय प्रक्रियामा दुई नेताको संयुक्त हस्ताक्षर आवश्यक छ । अर्को कुरा, ‘विगतमा प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी काम गरिएको र आउने दिनमा यस्तो प्रतिगमनकारी काम हुनेछैन’ भन्ने कुराको प्रतिवद्धता गरिनुपर्छ । पार्टीलाई आगामी दिनमा विधान, विधि, प्रक्रिया अनुसार चलाउँने प्रतिबद्धता आउँनुपर्छ । यो नै एकताको विन्दु हो ।

प्रतिक्रिया दिनुहोस्