Logo
Logo

‘आत्मसन्तुष्टि नै ठूलो कुरा हो’




लोकदोहोरी क्षेत्रमा चर्चित नाम हो, सीता केसी । ‘मलाई अमेरिका यही’ बोलको गीतमार्फत समाजमा फरक प्रभाव छोड्न सफल गायिका केसीले देश तथा विदेशका विभिन्न स्टेज शोहरुमा प्रस्तुति दिइसकेकी छन् । ‘मलाई अमेरिका यही’ गीतको चर्चासँगै उनले ‘छिन्नलता पुरस्कार’लगायत दर्जनौँ पुरस्कार र अवार्ड पाइसकेकी छन् । जसलाई उनी आफ्नो मिहिनेतको फल मान्छिन् । ‘छलछल पानी गाग्रीमा’, ‘पिरतीको डोरी’, ‘वारी दरौँ सालै जो’, ‘सुनका बाला’, रोइला, झ्याउरे, ‘गोधुँली साँझैमा’, ‘पोखरामा आऊ’, ‘आफूलाई नेपाली भन्न पाएर’, ‘भाग्यले नि ढाँट्यो प्यारा’लगायत दर्जनौं उनका गीतहरु बजारमा आइसकेका छन् । लकडाउनको समयमा समाजमा भइरहेका घटनाक्रमसँगै प्रार्थना गीतमार्फत सन्देश दिएकी गायिका सीता केसीसँग दृष्टिको जम्काभेट ।

गायनयात्रा कसरी अघि बढ्दैछ ?

पछिल्लो समयको परिस्थितिअनुसार चलिराखेको छ । नयाँ गीत निर्माणको क्रममा नै छु । मुलुकमा कोरोना भाइरसका कारण भइरहेको अवस्थालाई मध्यनजर गर्दै गीतलाई सार्वजनिक गर्ने काम अलि ढिला भएको मात्र हो ।

सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि कस्तो पाउनुभयो ?

नेपाली संगीत क्षेत्र महासागर हो । जहाँ प्रवेश गरेपछि धेरै त हराउने गर्छन् । कोही पौडिएर अवतरण हुने गर्छन् भने कोही त्यही हराउँदा हराउँदै जीवन व्यतित गरिरहेका हुन्छन् । म पनि त्यही संगीतको महासागरभित्र हराइरहेको छु । खासै फरक केही देख्दिनँ ।

यो क्षेत्रमा लागेर ‘स्टारडम’ चेन्ज हुन्छ भन्छन् नि ?

त्यो त पक्कै पनि हो । यस क्षेत्रमा लागेर धेरैको स्टारडम परिवर्तन भएको छ । कति यस क्षेत्रबाट पलायनसमेत पनि हुनुपरेको छ । त्यसैले राम्रा र नराम्रा दुवै पाटो यसभित्र हुन्छन् । स्टारडम चेन्ज गर्नेहरुको पनि मनभित्र भने धेरै विचलन हुने गर्छन् । राम्रो गर्यो भने हरेक क्षेत्रमा ‘स्डारडम’ कमाउन सकिन्छ ।

गायिका बन्नुभन्दा अगाडि के बन्ने सोच थियो ?

मेरो पारिवारिक वातावरण नै गीतसंगीत थियो । त्यसैले मेरो सानैदेखिको सोच नै गायिका नै बन्छु भन्ने थियो । त्यसैले पनि अन्य क्षेत्रमा सोच्नै सकिनँ ।

गायिका बनेपछि पछुतो छैन नि ?

आफूले सानैदेखि रुचाएको र इच्छाएको क्षेत्र रोजेको हुँदा कुनै पछुतो छैन । आफूले इच्छाएको क्षेत्रमा काम गर्न पाउँदा खुसी छु । बरु यस क्षेत्रमा कसरी अझै उचाइमा र सदाबहार रुपमा आफ्नो छवि कायम गर्ने भन्नेमा चाहिँ सधैं सोच्नुपर्ने अवस्था देखेको छु । अहिलेसम्म चाहिँ गर्दै आएकी छु । तर, अझ धेरै गर्ने सोच छ ।

आफूलाई नै भन्नुपर्दा तपाईं कस्तो गायिका ?

खासमा कलारकारमा क्याटगारी हुँदैन र हुनु हुँदैन पनि । म कस्तो भन्ने कुरा त मेरो सिर्जनाहरु सुनेर, हेरेर श्रोता तथा दर्शकले थाहा पाइहाल्नु हुन्छ । प्रत्येक चीज हेराइमै फरक पर्ने हो । धेरैको हेराइ र बुझाइमा म लोकदोहोरी गायिका हुँ । आफूले आफैँलाई यस्तो भन्नुभन्दा पनि श्रोताको नजरमा मेरा सिर्जनाले कस्तो प्रभाव पार्छ, म त्यहीँ भित्र छु ।

यति राम्री गायिकालाई प्रेम प्रस्ताव धेरै आउँछन् होला हैन ?

कसैले कसैलाई एकोहोरो रुपमा मन पराउनु फरक हो । तर, तपाइँले सोचेजस्तै प्रेम प्रस्ताव गर्नेहरु चाहिँ छैनन् । मेरो सिर्जनाले कसैको मन लोभ्याएको हुनसक्छ । तर, मेरो सुन्दरताले कसैलाई लोभ्याएको छ जस्तो लाग्दैन ।

गायन क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाउनुभयो ?

मैले यो क्षेत्रमा लागेर धेरै पाएँ । म मरेर जाँदा मेरो सिर्जना सदाबहार रुपमा यस धर्तीमा छाडेर जान पाउँछु । त्यसैले योभन्दा ठूलो मेरा लागि अरु हुनै सक्दैन । सबैले आर्थिक रुपमा हेर्ने गर्छन् । तर, सबैकुरा आर्थिक मात्र होइन । आत्मसन्तुष्टि सबैभन्दा ठूलो कुरा हो । गुमाउनुको पछाडि त मेरो जिन्दगी नै संगीतमा गुमाएको छु । त्यो पनि उपलब्धि नै ठानेको छु ।

आखिर जीवन के रहेछ ?

एउटा रंगमञ्च हो । जहाँ हरेक विधामा अभिनय गरिरहेका हुन्छौँ । समाजअनुसार जीन्दगीको परिभाषा बदलिएको हुन्छ । आफ्नो कर्मअनुसार जीवनको यात्रा तय भएको हुन्छ । त्यसैले जीवनको रंगमञ्चमा धेरै किसिमको अभिनय गरिरहेकी छु ।

प्रतिक्रिया दिनुहोस्