Logo
Logo

बन्दीपुरको ‘मिनीग्रेटवाल’को प्रवर्द्धनमा जोड



दमौली । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु भई मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनीग्रेटवालको प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा निर्माण गरिएको ‘मिनीग्रेटवाल’ को प्रचारप्रसार र प्रवद्र्धनमा गाउँपालिका अग्रसर भएको हो ।

चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनिग्रेटवालको प्रचारप्रसार र प्रवद्र्धनका लागि सोही ठाउँमा गाउँपालिकाको कार्यपालिकाको बैठक नै आयोजना गरेको छ ।

मिनीग्रेटवालको प्रचारप्रसार र प्रवद्र्धन गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले कार्यालयभन्दा बाहिर बैठक बसेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए ।

‘यस्ता कार्यले यस ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास लिएका छौं’, उनले भने, ‘गाउँपालिकाले नयाँ–नयाँ गन्तव्य बनाउने उद्देश्य सहित यसमा लगानी गरेको छ ।’

चालु आर्थिक वर्षको बजेटमा मिनीग्रेटवालका लागि रु डेढ करोड बजेट विनियोजन गरेको छ । गत वर्षदेखि निर्माण शुरु भएको मिनीग्रेटवालको निर्माण नसकिँदै यो पर्यटकको रोजाइमा पर्न थालेको छ ।

बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । ‘बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनीग्रेटवाल निर्माण थालेका हौं, यसको निर्माणका लागि सङ्घीय सरकारले पनि यो वर्ष सहयोग गरेको छ,’ उपाध्यक्ष गुरुङले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

उनका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

गाउँपालिकाले मिनीग्रेटवालको थप काम गर्नका लागि रु पाँच करोडको टेण्डर गरिसकेको छ । कूल साढे दुई किलोमिटर दूरी रहने मिनीग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ ।

गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो ।

उक्त पदमार्गलाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक रु एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।

गाउँपालिकाले टुँडिखेलमा सिसाको भ्युटावर निर्माणका लागि पनि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

उक्त केन्द्रबाट एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्नेछ । सिसाको दृश्यावलोकन केन्द्र निर्माणका लागि करिब रु तीन करोडभन्दा बढी रकम आवश्यक पर्ने देखिएको छ । टेण्डर निकाल्नका लागि बजेटको स्रोत सुनिश्चित हुनुपर्ने भएकाले स्रोत जुटाएर मात्रै टेण्डर निकाल्न खोजिएको अध्यक्ष थापाको भनाइ छ ।

‘यो योजनाको बारेमा केही प्राविधिक समस्या थियो, त्यो हल भएको छ, विज्ञ समूह गठन गरेर यसको थालनी गर्ने सोच बनाएका छौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्