Logo
Logo

नेपाल-भारत ओभरसाइट मेकानिजमको नवौं बैठक सम्पन्न



काठमाडौं । द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षा गर्न नेपाल-भारत संयुक्त परियाेजना समिति (ओभरसाइट मेकानिजम)को नवौं बैठक काठमाडौंमा बसेको छ ।

सोमबार सम्पन्न बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए ।

बैठकले २०७७ भदौ एक गते सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको थियो । बैठकमा दुवै पक्ष परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने सममति भएको छ ।

कोरोना महामारीको बीच पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुबारे दुवै सह-अध्यक्षले बैठकमा जानकारी गराएका थिए । बैठकमा गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन पुनर्निर्माणको प्रगतिबारे पनि समिक्ष गरिएको छ ।

बैठकमा निर्माण सम्पन्न भएका १३ वटा सडक, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु, अरुण तेस्रो परियोजनामा भइराखेको प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माणबारे छलफल भएको छ ।

बैठकमा परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने सहमति भएको छ ।

बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्