Logo
Logo

महाप्रबन्धक पौडेलको दिनगन्ती सुरु


2.2k
Shares

काठमाडौं । देउवा सरकारले पूर्णता नपाउँदा नेपाल वायुसेवा निगमका कर्मचारीहरुले दुःख पाएका छन् । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगम सुधार गर्नुको साटो कम्पनीमा परिणत गरेर निगम नै बेच्ने प्रस्ताव बोर्डबाट पारित गराएपछि निगमका कर्मचारीहरु ४५ दिनदेखि आन्दोलनरत छन् ।

महाप्रबन्धक पौडेलको राजीनामा गराउनुपर्ने र नयाँ व्यवस्थापन ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएका निगमका तीनवटा कर्मचारी संगठनको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री देउवाले नयाँ पर्यटनमन्त्री नियुक्त हुनासाथ पौडेललाई हटाउने आश्वासन दिएका थिए ।

प्रधानमन्त्रीले यस्तो आश्वासन दिएपछि छट्पटिएका पौडेल आफ्नो जागिर जोगाउन कांग्रेसी नेताहरुकहाँ गए पनि पौडेललाई हटाउने कुरामा प्रधानमन्त्री देउवा सहमत भएका कारण पौडेललाई जोगाउन नसकिने कांग्रेसी नेताको जवाफपछि उनी थप निराश भएका छन् ।

नेपालको एक मात्र ध्वजावाहक निगमको खर्बौको सम्पत्ति छ । दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी, तीनवटा ट्वीनअटर र पाँचवटा चाइनिज जहाज भएको निगमलाई सुधार गरेर चुस्तदुरुस्त रुपमा व्यवस्थापन सुधार गर्नुपर्नेमा निगम नै बेचेर खाने दाउमा लागेपछि उनका विरुद्ध सिंगो कर्मचारी संगठन आन्दोलित भएको हो । कर्मचारी आन्दोलन चर्किएपछि पौडेल निगम छिर्न पाएका छैनन् ।

नयाँ पर्यटनमन्त्री नियुक्त हुनासाथ पहिलो निर्णय उनलाई पर्यटन मन्त्रालयमा काजमा खटाउने हुनेछ । त्यसपछि पनि राजीनामा दिएनन् भने तीन पटकसम्म स्पष्टीकरण सोधेर उनलाई गलहत्याउने योजना बनेको बालुवाटार निकट उच्च स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्