Logo
Logo

छैठौं भन्सार सुधार आधुनिकीकरण योजना सार्वजनिक



काठमाडौं । अर्थमन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ ।मंगलवार मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन् ।

यस्तै उनले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरुको संगालो समेत सार्वजनिक गरे । छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँच वटा उपलब्धिहरु प्रक्षेपण गरिएको छ ।

व्यापार सहजीकरण, थथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिबृद्धिलाई योजनाका उपलब्धिको रुपमा राखिएको छ । संगठनात्मक विकास र क्षमता अभिबृद्धि अन्तर्गत भन्सार प्रशासनको प्रतिष्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष राखिएको छ ।

आधुनिक भन्सारका मापदण्ड लागू गर्नको लागि संगठनात्मक क्षमता बढाइउने लक्ष योजनामा समावेश गरिएको छ । भन्सार सुधार योजनाले उल्लेखित उपलब्धिहरु अन्तर्गत पन्ध्रवटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ ।

व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, स्वेच्छिक अनुपालन, प्रभावकारी जाँचपासपछिको परीक्षण, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार, भौतिक पूर्वाधारमा सुधार,व्यवस्थापकीय क्षमताको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पत्तिको संरक्षण, वातावरण र समाजको संरक्षणका क्षेत्रमा सहजीकरण लगायत छन् ।

यस्तै सरोकारवालाबिच समन्वय र सञ्चार, सुदृढ जोखिम व्यवस्थापन, यथार्थपरक राजश्व संकलन, स्वचालित प्रणालीको विस्तार, वैदेशिक व्यापार तथ्याङ्क व्यवस्थापन, सदाचार र सुशासन प्रवद्र्धन, सामाजिक सुरक्षाका लागि नीति तथा प्रक्रियाहरुको एकीकृत ढंगले कार्यान्वयन जस्ता प्रतिफल छैठौं भन्सार सुधार योजनाले अपेक्षा गरेको छ ।

नेपालमा राज्यको उत्पत्तिसँगै सुरु भएको भन्सार प्रशासनले वि.सं. २०६० दखि भन्सार सुधार कार्ययोजना लागू गर्दै आएको छ । पाँचौं भन्सार कार्ययोजना २०७८ असारमा सम्पन्न कार्यान्वयनमा ल्याइएको थियो ।

कार्यक्रममा नेपाल राजश्व परामर्श समितिले गठनको एक वर्ष पुगेको अवसर पारी पहिलो वार्षिक प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको छ । साथै समितिले १३ वर्ष यताका राजश्वसँग सम्बन्धित विभिन्न सुझावहरु समेटिएको पुस्तक समेत सार्वजनिक गरेको छ ।

सार्वजनिकीरण कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजनामा समावेश गरिएका विषयहरुबाट सेवाग्राहीहरु सन्तुष्ट भएर अपेक्षित लक्ष हासिल भए मात्र यसको सफलता ठहरिने बताए । उनले पारदर्शी र सरल भन्सार प्रशासन संचालनको लागि छैठौं सुधार योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दाहालले विषयवस्तुको संक्षिप्त प्रस्तुति दिएका थिए ।

भन्सार सुधार याेजनाकाे पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्