Logo
Logo

सीपयुक्त जनशक्ति तयार गर्न उद्योग परिसंघ र युके एडबीच सम्झौता



काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमका लागि नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम सीप) एक कार्यक्रमबीच समझदारी भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप परियोजनाका टिम लिडर बलिजत बोहराले मंगलवार हस्ताक्षर गरेका छन् ।

उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले सरकारले कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम अघि बढाएको भन्दै त्यसलाई कार्यान्वयन गर्न यो समझदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘उद्योगका लागि सीपयुक्त जनशक्ति आवश्यक पर्दछ भन्ने कुरालाई सरकारले गम्भीररूपमा लिएर यो कार्यक्रम बजेटमा समावेश गरिएको हो ।’ उनले अहिले न्यूनतम पारिश्रमिक दिएर सीपमूलक तालिम दिने र दक्ष जनशक्ति तयार गर्ने बताउँदै भने, ‘यसको प्रभावकारिता हेरेर भविष्यमा बजेट वृद्धि र कार्यक्रम विस्तार गर्नेछौँ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगका लागि आवश्यक सीपयुक्त जनशक्ति तयार गर्ने दायित्व परिसंघको भएको बताए । ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले वर्षेनी एक लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताए ।

यस समझदारीअनुसार प्रदेश नं २ र लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पर्यटन, सूचना प्रविधि र निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि परिसंघ र सीप परियोजनाबीच सहकार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्