अफगानिस्तान संकटबारे अमेरिका र बेलायतबीच के कुरा भयो ? « Drishti News – Nepalese News Portal
Logo

अफगानिस्तान संकटबारे अमेरिका र बेलायतबीच के कुरा भयो ?


एजेन्सी



लण्डन । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन् ।

उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो ।

सो क्रममा उनीहरुले एकआपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिएका थिए । उनीहरुले फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी गरेको बताइएको छ ।

आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ । उनीहरुले अफगानिस्तानबाट बाहिरन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्तरुपमा सहायता प्रदान गर्ने बताएका थिए ।

त्यसैगरी आगामी दिनमा अफगानिस्तानमा आउनसक्ने मानवीय सङ्कटको समााधानका लागि दुई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने उनीहरुले बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्