Logo
Logo

ओलीलाई झस्काउँने अपील, अष्टलक्ष्मी तेस्रो धारमा !



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को धक्का लागेको छ । पार्टी विभाजनमा गएपछि रातारात बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गरेका ओलीमाथि बिहीबार साँझ जारी एक विज्ञप्तिले झस्किएका छन् ।

एमालेबाट फुटेर गएका नेता माधव नेपाल पक्षलाई कमजोर बनाउने उद्देश्यसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा दिन लगाएर अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको थियो । शाक्य मुख्यमन्त्री बनेपछि धेरैले अनुमान गरेका थिए, ‘यी ओलीतिरै लागिन् ।’ यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाएका थिए ।

अर्को, कुरा एमाले विभाजन गरेर निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदनमा समेत शाक्यको नाम थिएन । त्यसैले पनि उनी ओली पक्षमा लागिन् भन्ने अनुमान गरिएको थियो । अध्यक्ष ओलीको मनशाय पनि त्यही थियो । अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाएपछि माधव पक्ष कमजोर हुनेछ । तर, बिहीबार अष्टलक्ष्मीको ‘ट्वीस्ट’ले ओली झस्किएका छन् ।

बिहीबार एमालेको ‘तेस्रो धार’ले संयुक्त विज्ञप्ति जारी गरेपछि ओली विखलबन्दमा परेका छन् । एमालेको तेस्रो धारका नेताहरुको समूहले जारी गरेको संयुक्त अपिलमा अष्टलक्ष्मी शाक्यको नाम र हस्ताक्षरसमेत रहेको छ । अपीलका अष्टलक्ष्मीको नाम देखेपछि ओली पक्ष चकित बनेका छन् । अष्टलक्ष्मी शाक्यसहित नौ जनाले जारी गरेको संयुक्त अपीलमा माधव नेपाल पक्षका १४ सांसदमाथि भएको कारबाही फिर्ता लिन समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्