Logo
Logo

एसईईमा ‘ए प्लस’ ल्याउँदा खुसी हुने कि चिन्तित् ?



हिजोआज धेरैको मुखबाट सुनिन्छ- ‘शिक्षा बिग्रियो, व्यवहारिक भएन, रोजगारमूलक भएन, शिक्षामा अनियमितता र बेथिति बढ्यो, गुणस्तर सुधार आकाशको फल भयो ।’ यी कुराले साँच्चै हाम्रो शिक्षा प्रणाली बिग्रिएकै हो त ? शिक्षामा सुधार नआएकै हो त ? भन्ने प्रश्न स्वाभाविक उठ्छ । यसको जवाफ गच्छेअनुसार आउँछ ।

पछिल्लो चार वर्ष यता माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिणामलाई हेर्ने हो भने शिक्षामा सुधार नआएपनि नतिजामा भने सुधार आएको देखिन्छ । गत वर्षहरूमा मध्यम जीपीए प्राप्त गर्ने विद्यार्थी सबैभन्दा धेरै हुन्थे । तर, आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्न थालेपछि माथिल्ला जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी छ ।

यसपाली अर्थात् २०७७ सालको एसईईमा ८ हजार ४ सय ४४ जनाले ४ जीपीए ल्याएका छन् । यो गत वर्षको भन्दा केही कम हो । ०७६ सालको एसईईमा ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका थिए । जबकी, बोर्डले परीक्षा सञ्चालन गर्दा ०७४ मा ७४ जनाले मात्रै ४ जीपीए ल्याएका थिए । ०७५ मा भने १ सय ६ जनाले ४ जीपीए ल्याएका थिए ।

यी चार वर्षको एसईई नतिजालाई हेर्ने हो भने नतिजामा सुधार भएकै छ । तर, नतिजामा कसरी यति धेरै सुधार भयो ? शिक्षामा सुधार भएको हो कि नतिजामा मात्रै ? विद्यार्थी धेरै मेहनती भएका हुन् वा विद्यालयहरूले मनपरी गरेका हुन् ? विद्यार्थीले राम्रो नजिता ल्याएका हुन् कि पाएका हुन् ? तर, नतिजामा सुधार आएको सबैले जबरजस्त स्वीकार गर्नैैपर्छ ।

एउटा तीतोसत्य, एसईईको नतिजा सुधार हुनको एउटै कारण हो, आन्तरिक मूल्यांकन । आन्तरिक मूल्यांकनबाट ग्रेडसिट दिने सरकारको निर्णयले एसईईको नतिजामा सुधार भएको छ । यसले एसईईका विद्यार्थीलाई राहत मिल्यो–मिल्यो, अविभावकलाई मेरा छोराछोरीले ‘ए प्लस’ ल्याए भनेर धाक दिने बाटो पनि बनेको छ ।

आफ्ना छोरोछोरीले राम्रो अंक ल्याए भनेर धेरै अविभावक मक्ख छन् । तर, केहीलाई भने गुणस्तरको चिन्ताले पिरोलेको छ । खासमा हाम्रो परीक्षाको मूल्यांकन पद्धतिमै त्रुटि छ ।

नेपालमा एउटा चलनचल्तीको भनाइ छ, ‘भाग्यमानीको निधारै ठूलो’ । गतवर्ष र योवर्ष एसईई दिने सबैको निधार ठूलो रहेछ कि कोरोनाले ठूलो बनाइदियो ! नपढी पनि पास भएकै छन् ! परीक्षामा एक अक्षर नलेखेपनि ‘ए प्लस’ ल्याएककै छन् ! अविभावकले पनि मेरा छोराछोरीले एसईईमा ‘ए प्लस’ ल्याए भनेर छाति पिट्न पाएकै छन् । ‘फेसबुक’मा फोटो हालेर बधाइ खाएकै छन् ।

विद्यालयले अंक बढाएर पठाएकै कारण नतिजा राम्रो देखिएको बोर्डका सदस्य नै स्वीकार गर्छन् । राम्रो नतिजा देखाएर विद्यार्थी आकर्षण गर्नका लागि निजी विद्यालयले बढी अंक थप्ने गरेको बोर्डका एक सदस्य बताउँछन् । सामुदायिक विद्यालयले पनि अंक थपेका छन् । तर, निजीले भन्दा केही कम ।

गतवर्ष आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्दा शिक्षकहरूले बढाइचढाई अंक दिएको पाइएको थियो । गत वर्षजस्तो नहोस् भनेर यसपटक राष्ट्रिय परीक्षा बोर्डले केही कसिलो प्रावधानसहित कार्यविधि जारी ग¥यो । बोर्डको एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि–२०७८ मा कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्था छ ।

विद्यालयले पठाएको अंक अस्वाभाविक लागेमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले पुनः विद्यालयमा फिर्ता पठाउन सक्ने कार्यविधिमा व्यवस्था छ  । कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागेमा इकाईले आधार र प्रमाणसहितको कागजातसमेत माग गर्न सक्ने उल्लेख छ । तर, कार्यविधि कोरोनाबाट बच्न ‘बेसार–पानी’ र ‘अम्बाको पात’ खाएजस्तो मात्रै भइदियो ।

यो वर्ष पनि विद्यालयहरूले अंक बढाएर दिएपछि शैक्षिक संस्थाहरू कहिल्यै नसुध्रिने भए भन्नेमा सरोकारवालहरूको चिन्ता छ । निजी विद्यालयहरूको संस्था प्याब्सनले पनि विगत तीन वर्षको नतिजासँग तुलना गरेर आन्तरिक मूल्यांकनका आधारमा अंक पठाउन सर्कुलर गरेका थियो । तर, विद्यालयहरूले टेरेनन् । न बाउँको जाने, न साहुको । आफूलाई जति मन लाग्यो, त्यति नै दिए ।

हुन त एसईईको राष्ट्रियस्वरुप र सान्दर्भिकतामै प्रश्न उठ्ने गरेको छ । १२ कक्षालाई विद्यालय शिक्षाको अन्तिम बिन्दु मानिएको छ । तर, अझैपनि कक्षा १० मा राष्ट्रिय परीक्षा लिइँदै आएको छ । अहिलेको संरचनाअनुसार १० कक्षाको परीक्षा भनेको ११ कक्षामा जानलाई मात्र हो । त्यसैले यसको औचित्यबारे बेलाबेलामा प्रश्न उठ्दै आएको छ । यसलाई खारेज गर्न मागसमेत हुँदै आएको छ ।

अहिले एसईईमा प्राप्त गरेको नम्बरको आधारमा कक्षा ११ मा भर्ना हुन र विषय छान्न पाउने व्यवस्था गरिएको छ । एसईईमा कम्तीमा १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले मात्र कक्षा ११ मा भर्ना हुन पाउनेछन् । जसले गर्दा एसईईमा अंक बढाएर दिने गरेको पाइन्छ । यसले विद्यार्थीको ११ कक्षाको पढाइमा समेत असर पुग्न सक्ने विज्ञहरूको भनाइ छ ।

गत वर्षको नजितामा जुन समस्या देखिएको थियो, अहिले त्यहीँ समस्या दोहोरिएको छ । अहिलेसम्म ती समस्याको पहिचान र सम्बोधन हुन सकेको छैन । सुधारका केही योजनाहरु भएतापनि कार्यान्वयन गर्ने आधार कति बने भन्ने लेखाजोखासमेत भएको छैन ।

आन्तिरक मूल्यांकनको आधारमा विद्यालयहरूले दिएको अंकलाई लिएर कतिपयले विद्याथीमाथि पनि प्रश्न उठाउने गरेका छन् । यो सरासर अन्यायपूर्ण हो । उनीहरूले कसैलाई मलाई यति नम्बर देउ भनेर मागेका होइनन् । परीक्षा दिएर आफ्नो प्रतिभा देखाउन नपाएकोमा कतिपय विद्यार्थीले अप्ठेरो महसुस पनि गरिरहेका छन् ।

आफ्ना छोरोछोरीले राम्रो अंक ल्याए भनेर धेरै अविभावक मक्ख छन् । तर, केहीलाई भने गुणस्तरको चिन्ताले पिरोलेको छ । यस्तो अवस्थामा उनीहरुलाई भविष्यको बाटो पहिल्याउन सहयोग गर्न जरुरी छ ।

भौतिक कक्षाको विकल्पका रूपमा अनलाइन कक्षा सुरु गरेपनि प्रभावकारी बन्न सकेन । त्यसबारे सरकारी निकायले अनुगमन गर्ने प्रयास समेत गरेन । जसले गर्दा विद्यार्थीको भविष्य डामाडोल हुने सम्भावना बढ्दै गएको छ ।

वास्तवमा हाम्रो परीक्षाको मूल्यांकन पद्धतिमै त्रुटि छ । लेखेर तीन घण्टाको जाँच दिने मूल्यांकन पनि उत्तम मूल्यांकन पद्धति होइन । लेखेर परीक्षा दिँदा पनि कसरी पास गर्ने ? कसरी राम्रो अंक ल्याउने ? भन्ने यी प्रश्न स्वभाविक रुकपमा उठ्छ । तर, यस्ता प्रश्नले आफ्नो क्षमताको विकास गराउनेभन्दा पनि मनमा तनाव पैदा गर्न सक्छ ।

रातभर घोकेर, रटेर, चिट चोरेर प्रश्नपत्र हल गर्नाले मात्रै शिक्षामा सुधार हुँदैन । यसले एउटा तहमा राम्रो नतिजा पक्कै देखाउँछ । तर, करिअरको लागि ठोस सघाउ पु¥याउँदैन । एसएलसीमा बोर्ड फस्ट हुनेभन्दा अरु विद्यार्थी सफल भएका उदारहणहरू पनि छन् । त्यसैले आन्तरिक मूल्यांकन गर्दा बिग्रियो भन्ने भन्दा परीक्षा प्रणाली सुधार गर्नेतर्फ लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्