Logo

नेकपाको एकता अन्तिम चरणमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ बैशाख ।
पार्टी एकता घोषणा भएको करिब एक वर्षपछि नेकताको तल्लो तहको एकतामा टुंगो लाग्ने भएको छ । एक साताभित्रै एकता टुंगो लगाउन गृहकार्य अघि बढेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल लगायत नेताबीच पटक पटक छलफल भएको छ । बुधबार पनि छलफलका लागि नेता नेपाल बालुवाटार पुगेको स्रोत बताउँछ ।


गत बिहीबार राती चन्द्रागिरी हिल्स रिसोर्टमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलसहित आवासीय बैठक बसेको थियो । जसमा धेरै विषय टुंगो लागेको छ । सोही छलफलपछि अध्यक्षद्वय ओली र दाहालले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सबै तहको एकताको टुंगो लगाउने गरी गृहकार्य तीव्र पारेका हुन्।
पार्टी सचिवालयका अधिकांश नेतासँग छुट्टाछुट्टै छलफल गरेका अध्यक्षद्वयले दुई दिनदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर एकताको गृहकार्य गरिरहेका छन् ।
ओली र प्रचण्डले प्रस्ताव गरेको जिल्ला अध्यक्षहरुको नाममा नेता नेपालले असहमति जनाएको स्रोत बताउँछ । जसमा केही हेरफेर गर्न लागिएको छ ।

युवा, विद्यार्थी, मजदुर र महिला गरी ४ वटा जनवर्गिय संगठनको बारेमा निर्णय हुन बाँकी छ । चारै संगठनमा लगभग सहमति भइसकेको छ ।
चन्द्रागिरि बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीलाई नेपाललाई पनि सँगै लिएर जान सहमत गराएका थिए । जसकारण एकता सकारात्मक दिशामा अघि बढेको हो । बैशाख ९ मै एकताका बाँकी काम टुंगो लाग्ने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्