Logo
Logo

बाँके प्रहरीमा अर्काे काण्डः गौहत्याको अपराधमा मिलापत्र




काठमाडौं । काठ तस्करलाई छाडेको घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाइरहदा बाँके प्रहरीमा अर्काे चलखेल भएको छ । गौहत्या जस्तो अपराधमा प्रहरीले आरोपीलाई मुद्दा नचलाई छाडिदिएको छ ।


भदौ ३ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सिक्टामा ट्रकको ठक्करबाट चार वटा गाईको मृत्यु भएको थियो । यस्तोमा गौहत्या मुद्दा चल्नेमा प्रहरीले मुद्दा नचलाई ट्रक चालकलाई आर्थिक लेनदेनका आधारमा छाडिदिएको हो ।


लु २ ख ३५५ नम्बरको ट्रकको ठक्करबाट स्थानीय विष्णु खड्का लगायतको गाई र गोरुको मृत्यु भएको थियो । स्थानीयले ट्रक चालक रुपन्देहीका सुव्रिभ भल्लाहलाई नियन्त्रणमा लिई प्रहरी चौकी अगैयामा बुझाएका थिए । चौकीका इन्चार्ज शरण भण्डारीले घटना भवितव्य भएको भनेर मुचुल्का बनाई गाईका धनीलाई केही पैसा दिन लगाएर चालकलाई छाडिदिएका हुन् ।

ठक्करबाट मृत्यु भएका गाई


गौहत्या जस्तो गम्भीर मुद्दामा प्रहरीले मिलापत्र गराएको हो । स्रोतका अनुसार बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपाने समेतको मिलेमतोमा ट्रक चालकलाई छाडिएको हो । यसमा आर्थिक चलखेल रहेको प्रहरी स्रोत बताउँछ । बाँकेमा एसपी र डिएसपीले छुट्टाछुट्टै घुुमवा खटाएर पैसा उठाउने गरेका विषयमा माथिल्लो निकायमा उजुरी परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्