Logo
Logo

बेलाबेला किन भासिन्छ पोखरा



पोखरा । भीषण वर्षापछिको भेलबाढीले खोतल्दा आइतबार राति पोखराको महेन्द्रपुलस्थित सडकमा बडेमानको भ्वाङ पर्‍यो । भेलका कारण सडकमात्र नभई फुटपाथसमेत भासिएको छ ।

सडक र फुटपाथ भासिएपछि आसपासमा घर भएका चिन्तित बनेका छन् । महेन्द्रपुल पोखराको कहलिएको व्यापारिक क्षेत्र हो । त्यहाँ वित्तीय संस्थादेखि विभिन्न निजी कार्यालय र प्रतिष्ठानहरू छन् ।

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन । पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ । कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा ।

ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ । भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ । सडक किनारमा भ्वाङ परेपछि नजिकैका घरसमेत जोखिममा पर्न सक्ने विज्ञहरूको भनाइ छ ।

पोखरामा आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म करिब १४ घन्टा अवधिमा २ सय ६० मिलिमिटर वर्षा भएको थियो । जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार बेलुकी ७ बजेदेखि भीषण वर्षा सुरु भएको थियो ।

रातभर वर्षा हुँदा पोखरा सहरभरि नै भेलबाढी आएको उनको भनाइ छ । उनका अनुसार यसपालि मनसुनको छोटो अन्तरालमा भएको वर्षा यही नै सबैभन्दा बढी हो । यसअघि असार २३ गते नौ घन्टामा २५८ मिलिमिटर वर्षा भएको थियो । मंगलबारसम्म भीषण वर्षाको सम्भावना रहेकाले थप जोखिम निम्तिन सक्ने उनले बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्