Logo
Logo

एसपीको जागिर धरापमा !




काठमाडौं । पत्रकारलाई फसाउन आफैंले लागुऔषध राखेर पक्राउ गरिएको घटनामा रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले छानबिन समिति गठन गरिएको जानकारी दिए।

घटनाको वास्तविकता र त्यसमा जिल्ला प्रहरी प्रमुख तथा प्रहरी कर्मचारीको के–कस्तो भूमिका हो भन्ने विषयमा छानबिन गर्न समिति गठन गरिएको उनको भनाई छ ।
गत साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो। उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए। लागुऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्वयले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए। महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो। सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागुऔषध राखेको देखिएको थियो। यसरी लागुऔषध राख्नेमा रौतहटको माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो।

उनीहरुले पत्रकारद्वयको मोटरसाइकलमा लागुऔषध राख्दा रौतहट प्रहरी कार्यालयमा कार्यरत असई उदयप्रसाद यादव र जवान मनोजसान कानु नजिकै उभिएर घटना नियालिरहेका थिए। असई यादव र जवान कानु सादा पोसाकमा थिए।
त्यो विषयमा एसपीकै निर्देशन रहेका आशंका गरिएको छ । अर्का एक पत्रकारसँगको कुराकानीमा उनले त्यसको संकेत दिएका छन् ।
एसपी शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । गुप्तचरबाट आएका अधिकृतहरुले संगठनलाई नै बदनाम बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्