Logo
Logo

कपि पेष्टको होडबाजी : विश्वास गुमाउँदै अनलाइन संचारमाध्यम



कुनै सञ्चारमाध्यमले एउटा समाचार ‘ब्रेक’ गर्‍याे भने एकैछिनमा ‘भाइरल’ हुन्छ, बिजुली गतिमा । त्यसको पाँच मिनेट नबित्दै त्यही समाचार सबै अनलाइनमामा भाइरल भइहाल्छ । कसले समाचार ‘ब्रेक’ गर्यो भन्ने समेत छुट्याउनै गाह्रो । त्यसमा स्रोत उल्लेख पनि हुँदैन ।

कतै केही घटना भयो भने सामाजिक सञ्जालमा तुरुन्त छाउँछ । त्यसैलाई आधार बनाएर समाचार बनाएर अनलाइनले ‘ब्रेक’ गरिहाल्छ । घटनासम्बन्धी आधिकारिक व्यक्ति कसैसँग बुझ्दैनन् पनि । उस्तै परे एकाधलाई फोन गर्यो, ‘स्रोतले बतायो’ भनेर लेखिदियो, पुग्यो ।

कुनै एक मिडियाले प्रकाशित गरेको अपुष्ट समाचार अन्य मिडियाले ‘कपी पेस्ट’ गर्छ । कोही अलिकति पनि मेहनत गर्दैनन् । गर्न पनि चाहँदैनन् । ‘कपी पेस्ट’ गरेपछि ‘ब्रेकिङ’ समाचार बनिहाल्छ, किन गर्नु मिहेनत ? सामाजिक सञ्जालमा ‘ब्रेकिङ समाचार’ भनेर सेयर गर्न पाइएकै छ ।

कुन अनलाइनमा के-के समाचार आयो भन्दै हेरेर बस्ने । त्यसैलाई तोडमोड गरेर पोस्ट गर्ने पत्रकारिता फस्टाएको छ । आफूले के कस्तो समाचार बनाउनेभन्दा पनि पनि अरुले के पोस्ट गर्यो ? भन्नेमा बढी चासो हुन्छ ।

‘कपी इडिटर’ भन्ने पत्रकारको पद नै छ । मिडिया हाउसले विज्ञापन खुलाउँदै यति जना ‘कपी इडिटर चाहियो’ भनेर संख्या तोक्ने गरेका छन् । उनीहरूको काम चलेका तीन/चारवटा अनलाइन हेर्ने । कसैको टाउको, कसैको पुच्छर अनि कसैको बिचको भाग काटकुट गर्ने, आफ्नो दावी गर्दै पोस्ट गर्ने ।

मिडिया संचालकलाई कार्यालयमा बसेर ‘कपी पेस्ट’ गर्ने दुई/चार जना भए पुग्छ । संवाददाता राख्नै परेन । खर्च पनि जोगियो । आफूलाई मूलधारे दाबी गर्ने मिडियाले समेत यसरी नै काम चलाउँदै आएका छन् ।

अरूले लेखेको समाचर सार्‍याे, ब्रेकिङको बिल्ला भिरायो ! पत्रकारिताको अर्थ ‘कपी र पेष्ट’ भएको छ । पत्रकारितामा साभार चल्छ । तर, फालानोबाट साभार गरिएको लेख्न हामीलाई ‘महाअपराध’ लाग्छ । चोरचारले संचार जगत नै बदनाम छ ।

प्रविधिको विकाससँगै आएको अनलाइन पत्रकारितामा ‘कपी पेस्ट’को चलन बढेको हाे । अहिले व्यक्तिपिच्छे अनलाइन छ । ‘एक पत्रकार, एक अनलाइन’ भएको छ । ‘कपी पेस्ट’ले नै अनलाइन चलाइरहेका छन् । अरुको समाचारको टाउको, पुच्छर केही काट्दैनन् । ह्रस्व दीर्घ, पूर्णविराम र कमासम्म हेर्दैनन् । जस्ताको तस्तै पेस्ट गरिदिन्छन् । त्यसमा पनि भ्यूज र भाइरल हुने सनसनीपूर्ण खबरहरू धेरै पोस्ट गर्छन् ।

केही समयअघिसम्म पत्रकार सूचना संकलन, प्रशोधन र उत्पादनमा संलग्न थिए । तर, अहिले कसले सामाजिक सञ्जालमा के पोष्ट गर्यो भन्दै कुरेर बस्ने समय आएको छ । व्यक्ति व्यक्तिले समाजिक संजालमा सकभर समाचार र फोटो हालेकै हुन्छन् । त्याहीँ सार्‍याे, जागिर खायो, चलेकै छ ।

पत्रकार नै नागरिकको सामाजिक सञ्जालमा भर पर्न थाल्नु र समाचार पुष्टि नगरि पोस्ट गर्नु भनेको पत्रकारिताको विश्वसनीयता घट्दै जानु हो । सामाजिक सञ्जालमा आउने अनेकौँ भ्रमित समाचारले पत्रकारिताको विश्वसनीयता घट्दै गएको छ । त्यसैले आम नागरिकले आमसञ्चारलाई महत्व दिन छाडेका छन् ।

अरूकै भर पर्नाले धेरै मिडियाले प्रेस काउन्सिल नेपाललाई स्पष्टिकरण दिइरहेका छन् । २०७६ चैत्र ९ गते एक राष्ट्रिय टेलिभिजनमा ‘पर्साको वीरगञ्जमा एक संक्रमित भेटिए’ भन्ने ब्रेकिङ समाचार प्रशारण भयो । त्यसलगत्तै अन्य अनलाइन मिडियाले पनि सारे । कोरोना संक्रमित भेटिएको हो/होइन भनेर पुष्टि गरेनन् । तर, अन्त्यमा उक्त समाचार गलत सावित भयो ।

त्यस्तै गत चैत्र ४ गते एक अनलाइन पत्रिकाले ‘नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको मृत्यु’ भनेर खबर प्रकाशित गर्‍याे । उक्त समाचार मिडिया र समाजिक सञ्जालमा छ्यापछ्यापति भयो । तर, न अस्पतालले उनको मृत्युको घोषणा गरेको थियो, न त उनको परिवारबाट आधिकारिक पुष्टि नै भएको थियो ।

एउटा अनलाइनको समाचार ‘कपी पेस्ट’ गर्नाले सनसनी मच्चायो । एकै क्षणपछि सामाजिक सञ्जालमा उक्त समाचार झुठो भनेर आयो । ‘कपी पेस्ट’ गर्न हतार हुने पत्रकार समाचार पुष्टि गर्नेतिर खासै लागेनन् । बरु छिट्टो हाल्ने होडबाजीमा त्यहीँ समाचार ‘कपी पेस्ट’ गर्न थाले । परिवारले प्रेस विज्ञप्ति नै निकालेर नेता जोशीको अवस्था ठीक रहेको स्पष्ट पार्नुपर्योे । यद्यपि, नेता जोशीको निधन भने चैत्र १३ गते भयो ।

यो त ‘कपी पेस्ट’को केही उदाहरणमात्रै हुन् । समाचार ‘कपी पेस्ट’ दिनहुँ हजारौँ हुने गर्छ । एउटा अनलाइनले हालेको समाचारलाई धेरैले तोडमोड गरेर हाल्छन् । जसले गर्दा पत्रकारहरू अल्छे बन्दै गएका छन् । समाचार संकलनका लागि फिल्डमा जान छाडेका छन् । फिल्डमा जानेभन्दा अन्य सञ्चारमाध्यममा प्रकाशित समाचारलाई तोडमोड गरी पोस्ट गर्नेहरु आफूलाई वरिष्ठ ठान्छन् ।

कसैले भोको पेट दिनभर संकलन गरी रातभर लेख्छ । उनलाई घामपानी केहीको प्रवाह हुँदैन । भोक, तिर्खा नभनी महिनौँ लगाएर समाचार तयार पार्छ । तर, अनलाइन सञ्चारमाध्यमले दश सेकेन्डै आफ्नो बनाइदिन्छ । पर्याप्त जनशक्तीको अभाव र आर्थिक दुरावस्थाले पनि अनलाइन पत्रकारितामा यस्ता समस्या देखापर्ने गर्छ । जसले गर्दा सम्पूर्ण पत्रकारिता क्षेत्र बदनाम बन्ने खतरा देखिन्छ ।

हामी जे देख्छौँ, त्यहीँ लेख्छौँ । त्यसैले त पत्रकारितालाई समाजको ऐनाको रुपमा परिभाषित गरिँदै आएको छ । तर, अरु अनलाइनमा जे देख्छौँ, त्यहीँ सारेर समाजको ऐना बन्न सकिँदैन । अर्का मिडियाको ऐनाचाहिँ पक्कै हुनेछौँ । आम मानिसले देख्न नसकेको भित्री कुराहरू प्रकाशन प्रशारण गर्न नसकेसम्म समाजको ऐना बन्न सकिँदैन ।

हुन त बीबीसी, सीएनएन, डेलिमेलकालगायत अन्तर्राष्ट्रिय मिडियामा पनि अरुको समाचार छाप्ने चलन छ । तर, समाचारमा अन्य मिडियालाई उद्धृत गरिन्छ । साभार लेखिन्छ । फलानाले यस्तो समाचार लेखेको छ भनेर स्रोतको रुपमा प्रयोग गरिन्छ । तर, नेपाली मिडियाले जस्तो देख्ला कि भने चिन्ताले तोडमोड गर्दैनन्, बकैदासाथ अन्य मिडियालाई उद्धृत गर्छन् । नामलाई प्राथमिकताका साथ राख्छन् ।

अहिले प्रविधिसँगै प्रस्तुति, प्रयोग र प्रभाव पनि नयाँ भयो । तर, अव्यवस्थित र अमर्यदित । थोरै लगानीमा पनि चलाउन सकिने भन्दै अनलाइन सबैले आ-आफ्नै बनाए । तर, राम्रोसँग चलाउन सकेनन् । पत्रकारितालाई विश्वास र मर्यादित पेशा बनाउन सकेनन् । राम्रा कर्मचारीहरू पाल्न सकेनन् । थोरै कर्मचारीमा मिडिया चलाउँन थाले । त्यसपछि ‘कपी पेस्ट’ मौलायो ।

मिडियामा पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्तिले पनि ‘कपी पेस्ट’ बढ्यो । हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक भएजस्तै मिडियाको आडमा शक्ति आर्जन गर्नेदेखि कमाउँ धन्दाका लागि थोरै कर्मचारी राखेर ‘कपी पेस्ट’ले ‘ब्याग मिडिया’ चलाउन थाले ।

पूर्वाधार विनाका अव्यवस्थितले अनलाइन मिडियामा धेरै ‘कपी पेस्ट’ फस्टायो । अहिले आवश्यकभन्दा बढी अनलाइन मिडिया छन् । सूचना विभागका अनुसार अनलाइन सञ्चामाध्यम २ हजार ७ सय ८९ वटा दर्ता छन् । दर्ता नभएका त कति छन् कति, गन्तिमै छैनन् । आचारसंहिता पालनाको स्थिति दयनीय छ ।

तर, सबै अनलाइन मिडिया ‘कपी पेस्ट’ हुन्छन् भन्ने होइन । केही त छापा, रेडियो, टिभी भन्दा पनि राम्रा छन् । ती मिडियाहरूका सम्पादक र पत्रकार पनि प्रतिष्ठित र क्षमतावान छन् । व्यवसायिक ज्ञान भएका जिम्मेवार र उत्तरदायी सम्पादक र पत्रकार भएका अनलाइन मिडियाले आचारसंहिता पनि पालना गरेका छन् ।

सरकारले अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न दर्ता निर्देशिका बनाएको छ । निर्देशिकामा अनलाइन डिजिटल पत्रिका अनिवार्य सूचना विभागको कार्यालयमा दर्ता गराएर प्रमाणपत्र लिनु पर्नेछ । अनलाइन दर्ता नगरी चलाएको पाइएमा उक्त अनलाइन पत्रिका बन्द गर्ने बताइएको छ । तर, सरकारले दर्ता नभएका अनलाइन पत्रिकालाई बन्द गर्न सकेको छैन ।

मिडियालाई राज्यको चौथो अंगको रुपमा हेरिन्छ । त्यसैले अनलाइन मिडियालाई व्यवस्थित गर्न जरुरी छ । तर, पत्रकारिता व्यवसायको सामान्य शीप र ज्ञान नै नभएकाले अनलाइन मिडिया संचालन गर्दा व्यवस्थित गर्न चुनौति बन्दै गएको छ । यदी, अनलाइन मिडियालाई व्यवस्थित गर्न सके सबैभन्दा प्रभावशाली मिडिया हुनेछ ।

(आलेखमा प्रयोग गरिएको स्केच हिवा म्याग्जिनबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्