Logo
Logo

नेपाललाई बक्सिङमा तीन कास्य



काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई)मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन् ।

छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन् । उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए । यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए ।

नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्