काठमाडौं । जुन आन्दोलनको लागि १७ वर्ष जेल जीवन बिताए, त्यही आन्दोलन छिन्नभिन्न हुँदा नेपालका नेशनल मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारी चिन्तित छन् । अधिकारी भन्छन्– कम्युनिष्टहरु क्रान्तिकारी प्रगतिशील र अग्रगामी हुन्छन् । तर, नेपालमा ठिक त्यसको उल्टो कम्युनिष्टहरु नै प्रतिगामी बने ।

आम निर्वाचनमार्फत नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाइ मत दिए । तर, त्यो जनमतको भावना बुझ्न नसक्दा खड्गप्रसाद ओलीले आफ्नै दुईतिहाइको सरकार ढाले एमालेलाई एक ढिक्का हुन दिएनन् र बाध्य भएर माधवकुमार नेपालले अर्को नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न बाध्य बनाए । इतिहासले अवश्य पनि यसको मूल्यांकन गर्नेछ र प्रतिगामीहरुलाई सजाय दिनेछ ।
अहिले ‘खड्गप्रसाद ओली के सोच्दैछन् होलान् ? उनमा खुशी होला कि दुःख ? मैले सम्झिरहेको छु । पुस ५ को घटनाले कम्युनिष्ट इतिहासमा ओली कलंक बने । अझै संसद्मा गएर पुनः भारी मतसहित प्रधानमन्त्री बन्ने सपना देखेका छन्’ अधिकारीले दृष्टिसँग भने ।
माओवादीसँग चुनावी एकता गरेपछि प्राप्त परिणाम थियो दुईतिहाइ । माओवादीसँग अलग भएपछिको परिणाम अहिले ओलीले भोग्दैछन् । पार्टी एकता गर्दा ओलीले माओवादीसँग गरेका सहमति कार्यान्वयन गर्नुपथ्र्यो । त्यो नगर्दा कम्युनिष्ट आन्दोलन कमजोर बन्यो, अधिकारी भन्छन् ।
८४ वर्षको उमेरमा पनि उनमा युवा जोश छ । उनी भन्छन्, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी देशको आवश्यकता हो, जसले हली, गोठाला, श्रमिक मजदुर र किसानको पक्षमा आवाज उठाओस् ।’ एमाले विभाजनका बेला अधिकारी माधवकुमार नेपालले चैत ४–५ गते सानेपामा बोलाएको राष्ट्रिय भेलामा सहभागी थिए । कम्युनिष्ट एकता र आन्दोलन जोगाउनुपर्छ भन्ने भावनाले उनलाई त्यो कित्तामा पु¥यायो ।
अधिकारी भन्छन्, एमाले ओली एक्लैले बनाएको पार्टी होइन, सयौं सहिदको बलिदानीले यो पार्टी स्थापित भएको हो । त्यसका लागि ओली १४ वर्ष (म) अधिकारी १७ वर्षसँगै जेल बसे । जब ओली प्रधानमन्त्री बने, त्यसपछि उनले फर्किएर पनि अधिकारीतर्फ हेरेनन् । उनलाई शुभकामना दिन बालुवाटारमा धेरै फोन गरेँ, कसैले वास्ता गरेनन् । बालुवाटारको यो अधिकारीप्रति अपमान थियो ।
एमालेको नवौं महाधिवेशनमा झापा आन्दोलनका सहयोद्धालाई जिताउनुपर्छ भनेर ओलीकै आग्रहमा अधिकारी भृकुटीमण्डपमा आयोजित भेलामा सहभागी भए । जब ओली पार्टी अध्यक्ष बने, तब उनले अधिकारीलाई माधव नेपालले स्वास्थ्य उपचार खर्चवापत पार्टीले दिएको मासिक ६ हजार पनि कटौती गरिदिए । यस घटनाबाटै बुझिन्छ, ओली कति अमानवीय छन् भन्ने कुरा ।
सादा जीवन उच्च विचारका धनी अधिकारीमा ओलीले देश र जनताका लागि केही गर्छन् भन्ने विश्वास थियो । सानैदेखि दुःख पाएका ओलीलाई जनताको दुःख के हो थाहा थियो । तर, जब ओली दुईतिहाइको प्रधानमन्त्री बने, तब उनलाई आफ्नै दम्भले खायो । उनी महासामन्ती बने । कोभिडको महामारीको बेलामा समेत ओली भ्रष्टाचारमा रमाए, अधिकारी भन्छन् । ओलीको चरित्र र व्यवहारले आफूलाई कम्युनिष्ट भन्न पनि लाज लाग्छ अधिकारी भन्छन् ।
अधिकारीको विचारमा तुलनात्मक रुपमा ओलीभन्दा माधवकुमार नेपाल व्यवहारवादी नेता हुन् । नेपालले कार्यकर्ताको दुःख, सुख बुझ्छन् । मदन भण्डारीको हत्या भएपछि लामो समयसम्म पार्टी नेतृत्व उनले नै थामे । माओवादीको १० वर्षे ‘जनयुद्ध’मा पार्टी जोगाए । ज्ञानेन्द्रको निरंकुशताविरुद्ध सडक संघर्ष गरे । ओलीको तुलनामा माधव नेपाल क्रान्तिकारी र स्वाभिमानी, स्वच्छ, नैतिकवान नेता हुन् ।
बन्न त माधव नेपाल पनि प्रधानमन्त्री, मन्त्री बने तर, कहिले पनि उनी कुनै काण्डमा मुछिएको सुनिएको छैन । प्रधानमन्त्री हुँदा पनि अनमिन हटाउनेदेखि शान्ति प्रक्रियाका धेरै राम्रो काम गरेका थिए । अहिले हरेक पार्टीमा विवाद छ । पार्टी, नेतृत्वले होइन, गुटले चलाउने संस्कार बसेको छ । यो राम्रो कुरा होइन ।
दुःखका साथ भन्नुपर्छ, ओलीको दम्भका कारण त्यत्रो इतिहास बोकेको एमाले फुट्यो । यसले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउँछ । नेपालमा जे जति राजनीतिक परिवर्तन भएका छन्, ती कम्युनिष्ट आन्दोलनको परिणाम हो ।
त्यसैले अब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादउन्मुख नेपाल बनाउने दायित्व र जिम्मेवारी माधवकुमार नेपालको काँधमा आएको छ । म नेपालको साथमा छु, लाखौं जनता, कार्यकर्ता नेपालको साथमा छन् । आफैँले दुःख, संघर्ष, बलिदानीबाट बनाएको पार्टीमा ओलीजस्ता ‘बेइमान’ नेताले ढोका बन्द गरेपछि नेपाल अर्को पार्टी खोल्न बाध्य भएका हुन् । यो कुरा अब जनताको घरघरमा गएर बुझाउनुपर्छ । नेकपादेखि एमालेसम्मको विभाजनले धेरै पाठ सिकाएको छ । अब देशले ओलीबिनाको एकीकृत कम्युनिष्ट पार्टी खोजेको छ, त्यसको नेतृत्व माधव नेपालले गर्नुपर्छ ।











