Logo
Logo

इलाका प्रशासन कार्यालय सुखडमा सेवाग्राहीलाई सास्ती


हिक्मत बम


धनगढी । इलाका प्रशासन कार्यालय सुखडमा चरम लापरवाही हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवा प्रवाहमा ढिलासुस्ती गर्दै आएको मोहन्याल र बर्दगोरिया गाउँपालिकाका सेवाग्राहीहरुले कर्मचारीका कारण समयमा काम हनु नसकेकाे भन्दै गुनासो गरेका हुन् ।

सुखडले बार अनुसारको सेवा प्रदान गरेपनि विहीबार र शुक्रबारका दिन पालो आउँदा पनि सहज ढंगले सेवा लिन नपाएको गुनासो स्थानीयकाे छ ।

विहीबार मोहन्याल गाउँपालिका वडा नम्बर ७ बाट नागरिकता बनाउन आएका दिपक माझीले इलाका प्रशासन कार्यालय सुखडले आफूहरुलाई विहीबार र शुक्रबार सेवा दिने भनेर सूचना निकालेको थियो ।

सोहि अनुसार विहीबार नगरिकता बनाउन पुगेका उनको काम हुन सकेन । कर्मचारी समयमा कार्यालय नआउँदा समस्या भोग्नुपरेको गुनासो माझीको छ ।

उनले चिनेजानेको र आफन्तलाई मात्रै कर्मचारीले सेवा प्रदान गर्ने गरेको आरोप समेत लगाए ।

नागरिकताको प्रतिलिपि लिन इलाका प्रशासन कार्यालय सुखड पुगेकी मोहन्याल कै टंकाकुमारी भण्डारीले पनि कर्मचारी समयमा कार्यालयमा नपुग्दा सेवा प्रवाहमा ढिलो भएको गुनासो गरिन् ।
यता इलाका प्रशासन कार्यालय सुखडका प्रमुख बबालाराम घिमिरेले बार अनुसारको सेवा प्रदान गरेपनि प्राथमिकताका आधारमा अरुलाई पनि सेवा प्रदान गरिरहेको बताउँछन् ।

इलाका प्रशासन कार्यालय सुखडले चार स्थानीय निकायका मोहन्याल, बर्दगोरीगा गाउँपालिका र गौरीगंगा, घोडाघोडीका नगरपालिकाका जनतालाई सेवा प्रदान गर्दै आएको छ । इलाका प्रशासन कार्यालय सुखडले नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने, राहदानीका लागि सिफारिस गर्ने, नाबालिक प्रमाणपत्र प्रमाणित गर्ने लयायतका कामहरु गर्दै आएको छ ।

कैलाली सुगम मानिएको जिल्ला भएपनि साविकका सात वटा गाउँ विकास समिति (हालका दुई वटा स्थानीय तह चुरे र मोहन्याल गाउँपालिका) दुर्गम पहाडी क्षेत्रमा पर्दछन् । कैलाली जिल्ला ठूलो र भौगोलिक हिसावले निकै विकट छ ।

यसलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्ना सेवाहरु छिटोछरितो र सजिलो तवरले प्रदान गर्नका लागि जिल्लाका तीन ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रशासन कार्यालय टीकापुर र जिल्ला प्रशासन कार्यालय धनगढीबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्