Logo
Logo

काबुल विष्फोटको प्रमुख योजनाकार मारिएको अमेरिकाको दावी



काठमाडौं । अमेरिकाले पूर्वी अफगानिस्तानमा शुक्रबार गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।

बिहीबार काबुलको विमानस्थल बाहिर भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आईएस–केले लिएको थियो । उक्त आक्रमणमा १७० जनाको मृत्यु भएको थियो । जसमा १३ अमेरिकी सैनिक रहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकीले इस्लामिक स्टेट खुरासन (आईएस–के)लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो । आईएस–के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस–केले चुकाउनुपर्ने चेतावनी दिएका थिए । अमेरिकी सेनाले आईएस–केलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा कोही पनि सर्वसाधारणको मृत्यु नभएको बताएको छ ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अहिले अफगानिस्तानबाट उद्धारको काम चलिरहेको छ । पछिल्लो दुई सातामा अमेरिकाले एक लाखभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्