Logo
Logo

सप्तरीका सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडाैं ।  सप्तरी सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले अख्तियारको स्टिङ अप्रेसनपछि दायर भएको मुद्दामा सफाइ दिने आधार नदेखिएको भन्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। 

अख्तियारले वडाध्यक्ष मियाँविरुद्ध २०७६ वैशाख १६ गते अभियोगपत्र दायर गरेको थियो। सर्वोच्च अदालतले स्टिङ अप्रेसन खारेज हुने फैसला गरेपछि स्टिङ अप्रेसनकै आधारमा दर्ता भएको मुद्दामा विशेष अदालतले पहिलोपटक फैसला सुनाउँदै प्रतिवादीलाई दोषी ठहर गरेको हो। 

मुद्दा दर्ता भएको २ वर्षपछि विशेष अदालतले मियाँले २५ हजार घुस लिएको कुरा प्राप्त मिसिल र अन्य प्रमाणबाट पुष्टि भएकाले सफाइ दिन नसकिने ठहर गरेको छ।

विशेषले मियाँलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा ३ अनुसार २८ दिन कैद र विगो बमोजिक २५ हजार जरिवाना हुने फैसला सुनाएको छ ।

२०७८ वैशाख ८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध चलाउँदै आएको स्टिङ अप्रेसनसम्बन्धी मुद्दामा उक्त कार्य अवैधानिक भएको ठहर गरिरहँदा विशेष अदालतले भने यस प्रकारको फैसला सुनाएको छ ।

मियाँले मोहीयानी जग्गा छुटाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना प्राप्त भएपछि उनीमाथि अख्तियारले निगरानी बढाएको थियो।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मियाँलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्