Logo
Logo

‘धागो’का गाँठाहरू र समकालीन समय


शशी भट्टराई श्रेष्ठ

0
Shares

कविता साहित्यको सबैभन्दा प्राचीन र प्रभावकारी विधा हो । थोरै शब्दमा धेरै कुरा अटाई, मनमा लागेका अनेक उकुसमुकुसलाई शब्दमा उनेर, मनका भावनालाई आकार दिई संवाद गर्नु नै कविता हो । समयचक्र सँगसँगै कविताको इतिहास पनि निरन्तर अघि बढ्दै गएको पाइन्छ । वीरधारा, भक्तिधारा, श्रृङ्गाारिक धारा, सुधारवादी धारा हुँदै आधुनिक नेपाली कविताहरूमा अहिले स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, प्रयोगवाद र उत्तरआधुनिक चेतना झल्किन्छ । मैले बारम्बार भन्ने गरेकी छु– कविता रच्नु आफंैमा कठिन कुरा हो ।

आख्यान वा निबन्धमा जस्तो कवितामा व्याख्या गर्ने छुट हुँदैन । उपयुक्त विम्ब र प्रतीकहरू खोज्दै व्यक्त गर्न खोजेको भावहरू नछुटाई सीमित शब्दमा सम्पूर्ण कुरा समेटी पाठकलाई पनि तरङ्गित पार्न सक्नु सजिलो हुँदै होइन । यस्तो मुश्किल कर्ममा लागेका कवि सफल त्यतिबेला बन्छन्, जब तिनै विम्बहरूले आफ्नो सार्थक रूप पाउँछन् ।

कुनै तडकभडकबिनाको सामान्य देखिने वस्तुहरूले कहिलेकाहीँ धेरै मन लोभ्याउँछ, कहिलेकाहीँ यस्तै साधारण लाग्ने कुराहरूले नै मन–मस्तिष्कमा अधिपत्य जमाउने गर्छन् । त्यस्तै सरल र तडकभडकबिना नै आफ्ना अक्षरका माध्यमबाट पाठकको मनमा गहिरो छाप छोड्न सफल सर्जक हुन्– जीवित खड्का मगर । कलामा रमाउने, कलाको विशाल आकाशमा आफ्नो पंख फिँजाई निरन्तर सृजना गरिरहने जीवित खड्का मगरलाई केवल कवि भनेर चिनाउनु उनको सर्जक व्यक्तित्वलाई खुम्च्याउनु हो । उनी अक्षरहरूमा रमाउने कवि हुन्, रङ्गहरूमा विलिन हुने चित्रकार हुन्, रागहरूमा लिन हुँदै जादु छर्ने सङ्गीतकार पनि हुन् । काव्य, कला र सङ्गीतले उनलाई जीवित बनायो या जीवितले काव्य, कला र सङ्गीतलाई आफ्नो जीवन बनाए ? यसको जवाफ उनका रचना मार्फत हामी पाउन सक्छौँ ।

‘धागो’ कवितासङ्ग्रह जीवितको तेस्रो प्रकाशन हो । यसअघिका कृति ‘अनुभूतिका चर्चाहरू’ (२०६०) र ‘ईश्वरको खेती’ (२०७१) मैले पढेकी त छैन तर ‘धागो’मा सङ्ग्रहित कविताहरूले मलाई उनको काव्यिक यात्रातिर मोहित पा¥यो । उनका पूर्व प्रकाशित यी दुई सङ्ग्रह पनि म अवश्य पढ्नेछु । पछिल्लो कृति धागोमा ४० वटा कविताहरू सङ्ग्रहित छन्– सबै उम्दा । लामा–छोटा–अतिछोटा कविताहरू सबै पठनयोग्य छन् । जन्मभूमि नेपाल भए पनि हाल अरबलाई कर्मभूमि बनाएका कविले विवश नेपाली जनताको प्रतिनिधित्व गर्दै कवितामार्फत नेपाल सरकारलाई चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् ।

हाम्रो देशमा बिजुली–बत्तीहरू
दिउँसै मध्यरात बाल्छन्
हाम्रो देशमा लिलामी दौरा–सुरुवालहरू
रोगी सडक खोप्दै मोटरगाडी दगुराउँछन्
….ओ शासकहरू !
दिनहुँ यो बेरोजगारको ताँती
भोको कमिलाहरूझैँ कहिलेसम्म ?
(कविताः परदेश आउनेहरूलाई )

आजको नेपालको सबैभन्दा ठूलो र तीतो यथार्थ भनेको युवा र सक्षम जनशक्तिको विदेश पलायन हो । स्वदेशमा भनेजस्तो रोजगार नपाउनु, गुणस्तरीय शिक्षाको अभाव, राजनीतिक अस्थिरता र भविष्यप्रतिको असुरक्षाका कारण दैनिक हजारौं नेपाली विदेशिन बाध्य छन् । हुनत विदेशको जीवन बाहिरबाट देखिएजस्तो सहज र रमणीय त पक्कै छैन । यद्यपि अधिकांश नेपालीका लागि विदेशको जीवन नेपालको भन्दा धेरै गुणा राम्रो साबित भइरहेको छ । श्रमको उचित कदर, सामाजिक सुरक्षा, नियम–कानुनको अनिवार्य पालना, पारदर्शी व्यवस्था र जवाफदेहिता यति भए जस्तै देश पनि विकासको बाटोतर्फ उन्मुख हुन्छ भन्ने कुरा हामीलाई थाहा छ । तर पनि हामी खोइ कता चुकिरहेका छौँ ! समस्या के हो भन्ने थाहा हुँदाहुँदै पनि समाधानतर्फ अघि बढ्न नसक्नुको कारण के हो ? जीवितका कविताहरूले यिनै प्रश्नहरूलाई बारम्बार कोट्याउँछन् ः
दौरा–सुरुवाल र ढाका टोपी ढल्काएर
ठूल्दाज्यूहरू !
जब जब पाहुना भई
छिमेकमा जानुहुन्छ
तब तब
इमान र स्वाभिमानका
सबै वस्त्रहरू उतै फुकालेर
निर्वस्त्र घर फर्किनुहुन्छ । (कविताः निम्तो)

यो कविता कति पेचिलो छ हेर्नुहोस् त । देश हाँकेका, हाँक्ने चेष्टा गरेका सम्पूर्ण ड्राइभरहरूलाई इन्जिन पड्किने गरी दनक दिएका छन् कविले । आफ्नो व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि देशको स्वाभिमानसँग सौदा गरेर नैतिक शून्यतालाई महानता सम्झने ती सबै ढोँगीहरूलाई यो कविता मैले समर्पण गरेँ । सत्तामा रहेर पनि देशको लाज बचाउन असफल तिमीहरूले जति नै ठूला कुरा गरे पनि, जति नै विपक्षी दलको खण्डन गरे पनि, सत्यको अगाडि तिमीहरूको खोक्रो आश्वासन र नालायकी इतिहासको पानाबाट मेटिने छैन । दबिएका आवाज, असन्तुष्टि र यी आलापहरू कुन दिन र कसरी प्रस्फुटन हुन्छन् भन्ने कुराको हेक्का तिमीहरूलाई छैन, सरकार ।

बारुद बनाएर हामीलाई
भरुवा बन्दुकमा नखाँद्नू
तिमी जति खाँद्दै जान्छौ
हामी त्यति जोडले पड्किन्छौँ । (कविताः बारुद)

‘सरकार’, ‘तलाउ’, ‘हिउँको आगो’, ‘फोटो’, ‘गल्ती’ यी कविताहरूमा विम्ब र प्रतीकहरू बेजोड छन् । हरकोहीले यी कविताको भावसँग सहमति जनाउने छन् । जीवितका कविताहरू सरल छन् तर भाव निकै गहकिलो । सरर पढ्दा बुझिन्छ तर त्यसको प्रत्येक विम्ब अनि प्रतीकहरूलाई केलाएर पढ्ने हो भने यी कविताहरू त्यति सतही छैनन् । ‘उड्ने मान्छे’, ‘मोहन कोइराला’, ‘ईश्वरहरूको विरुद्धमा’, ‘देवताहरूको सत्ता’, ‘अग्नि परीक्षाअघि सीताको प्रतिवाद’ आदि कविताहरू गहकिला छन्, तरङ्गित पार्ने खालका छन् । प्रिय पाठकहरू, समय लगाएर धैर्यसाथ पढ्नुहोस्, यी कविताहरू र सोचमा लिन हुनुहोस् आपैmँलाई प्रश्न गर्नुहोस् । मानव सभ्यतादेखिका कथनलाई मनन गर्नुहोस् । आफ्नो दृष्टिकोणमा यहाँहरूले पक्कै केही फरक महसुस गर्नुहुनेछ ।

अब कुरा गरौँ ‘धागो’ कविताको । यो कविता छोटो छ । सरल छ । विम्बहरू पर्याप्त छन् । कवि भन्छन्– कुनै पनि सम्बन्धमा मनमुटाव आउनु, मतभेद हुनु स्वाभाविक हो र कतिपय अवस्थामा जरुरी पनि हुन्छ । तर ती मतभेदले सम्बन्धलाई कुन दिशातर्फ लग्दैछ, सम्बन्धको त्यो धागो अल्झिएको छ वा चुँडिन लागेको छ, सो कुराको सुझबुझ सबैमा हुनुपर्दछ ः
म चाहन्नँ
धागोलाई गाँठो पारेर धागोमै जोडूँ
त्यही धागोले स्वेटर बुन्नु छ,
जसले सधैँ न्यानो दिनेछ । (कविताः धागो)

यही सम्बन्ध र परिवारको पृष्ठभूमिमा रहेको अर्को कविता छ– ‘घर र ससाना ढुङ्गा’ । यो कविताले पनि मलाई निकै छोयो । घरपरिवारको आधार भनेकै माया, विश्वास र एकअर्काप्रतिको सद्भाव हो । यीमध्ये कुनै पनि कुराको गैरहाजिरीमा सम्बन्धको जग मक्किन सक्छ र वर्षौंदेखिको अनुराग, समर्पण छिनमै निरर्थक साबित भइदिन्छ । आजकल सम्बन्धहरू निकै नाजुक र कमजोर धरातलमा अडिएका देखिन्छन् ।

असीमित विकल्पको भ्रम, अत्याधिक व्यक्तिगत स्वार्थ र सम्झौताको अभाव, भावनात्मक सुरक्षाको कमी, वचनबद्धता र जटिलताको समस्या आदिका कारण सायद बाहिरबाट हेर्दा आकर्षक देखिने प्रेम सम्बन्ध पन भित्रभित्रै काँचको पर्दाजस्तै क्षणभङ्गुर बन्दै गएको छ । सायद कवि यी कवितामार्फत आजको पुस्तालाई केही सुझाव दिन खोजिरहेका छन् ।

सम्बन्धलाई बचाउन र अझ प्रगाढ बनाउन काल्पनिक पूर्णताको पछाडि दौडिनुको सट्टा एकअर्काका विचारलाई सुन्नुपर्छ र कमजोरीहरूलाई स्वीकार्नुपर्छ, यस कविताको मूल आशय हो । मानिस–मानिसबीचको सम्बन्ध, आफ्नो माटोसँगको नाता, समाजप्रतिको उत्तरदायित्व र जीवनसँगको हाम्रो निरन्तर संवादको कथा पनि हो यो कविता । कतै कवि प्रश्न गर्छन्, कतै व्यङ्ग्य गर्छन्, कतै असहमति जनाउँछन् त कतै सम्बन्धहरू जोगाइराख्ने सानो आग्रह गर्छन् । उनका कविताहरूको सुन्दरता यही सरलतामा छ ।

सायद यही नै ‘धागो’को सबैभन्दा सुन्दर पक्ष हो– यसले पाठकलाई कुनै निष्कर्ष थमाउँदैन बरु आफ्नै जीवन, आफ्ना सम्बन्ध र समाजलाई फेरि एकपटक नियाल्न बाध्य बनाउँछ । त्यसैले ‘धागो’ पढिसकेपछि पनि कतिपय कविता र तिनका विम्बहरू मनमा कतै न कतै बाँकी रहिरहे । धागोमा जेलिएका प्रश्नहरूको उत्तर खोज्न म सायद किनाराहरूतर्पm लागेँ ।
तीनकुने, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्