Logo
Logo

जब एसपीको म्यासेन्जरबाट पैसा मागियो




जनकपुर । नेपाल प्रहरीका एक एसपी नै साइबर अपराधको सिकार भएका छन् । उनको नाममा नक्कली फेसबुक आइडी बनाएर पैसा मागिएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटका नाममा नक्कली फेसबुक आइडी बनाएर उनका चिनजान विभिन्न ब्यक्तिसँग पैसा मागिएको हो । एसपी रानाभाटले आफ्नो नाममा नक्कली फेसबुक आइडी बनाएर पैसा माग्ने काम भएकाले ठगहरुलाई रकम नदिन आग्रह गरे। भारतको महाराष्ट्र राज्यस्थित पुनामा बसोबास गर्ने उल्लेख गरेर उनको नाममा नक्कली आइडी बनाइएको छ ।

’बिरामी भएर थला परेको निहुँमा फेसबुक म्यासेन्जरमार्फत साथीहरुसँग रकम माग गरिएको थाहा पाएँ,’ एसपी रानाभाटले भने, ’म्यासेन्जरमा रकम माग गर्दा अंग्रेजी भाषा प्रयोग गरिएको छ। यसले गर्दा पनि नक्कली आइडी बनाउनेहरु नेपाल बाहिरका ठग हुन सक्छन्।’

कुनै पनि व्यक्तिको सक्कली अर्थात् आधिकारिक फेसबुक आइडीबाट तस्बिर तथा जानकारी चोरेर नक्कली आइडी बनाई स्वास्थ्योपचार वा अन्य कुनै बहानामा फेसबुक साथीहरुसँग रकम माग गर्ने गिरोह सक्रिय छन्। यसअघि पनि विभिन्न कलाकारको नाममा नक्कली आइडी बनाएर सहयोगी मागी ठगी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्