Logo
Logo

जोखिममा हाइड्रोपावर कम्पनीको सेयर



काठमाडौं । पछिल्लो समय सेयर बजारमा भएको वृद्धिको चक्रमा हाइड्रोपावर कम्पनीहरुको सेयरमा नयाँ लगानीकर्ता फस्ने सम्भावना बढ्ने खतरा छ । ठूला र चलाख लगानीकर्ताहरुले कृत्रिम माग सिर्जना गर्दै हाइड्रोको सेयर मूल्य टुप्पोमा पुर्याएर बेचेर बाहिर निस्किएपछि हाइड्रोमा नयाँ लगानीकर्ताहरु फस्ने संभावना बढेको हो ।

पछिल्लो समयमा हाइड्रोपावरहरुले आफुले धारण गरेका अन्य कम्पनीको सेयर बेचेर नाफा बढेको देखाउने रणनीति अख्तियार गरेपछि घाटामा रहेका र बर्षौसम्म लाभांश वितरण्ण गर्न नसक्ने हाइड्रोपावरहरुको पनि सेयर मूल्य धेरै बढेको देखिन्छ । बजारमा थोरै कित्ता सेयर रहेका खराब कम्पनीहरुको सेयरको मूल्य धेरै बढ्ने प्रबृत्ति देखिएपछि नयाँ लगानीकर्ताहरु त्यस्तै कम्पनीमा झुम्मिएका छन् ।

एक बर्ष भन्दा कम समयमा कतिपय खराब हाइड्रोको सेयर मूल्य १० गुणा भन्दा बढीले बढेका छन् भने चिलिमे, बुटवल पावर, सानिमा माई जस्ता कम्पनीहरुको सेयर मूल्यमा खासै ठूलो वृद्धि हुनसकेको छैन । सेयर बजारका केही खेलाडीहरुले हाइड्रोको सेयरमा हकप्रदको समेत लोभ देखाएर नयाँ लगानीकर्ताहरुलाई फसाईरहेका छन् ।

सेयर बजारका जानकार स्रोतका अनुसार ठूला खेलाडीहरु लगभग हाइड्रोपावरबाट निस्किईसकेका छन् । केही बाँकी भएकाहरुले पनि कृत्रिम माग सिर्जना गरी सोेझा लगानीकर्ताहरुलाई महंंगोमा सेयर भिडाएर निस्कने प्रयास गरिरहेका छन् । हाइड्रोपावरमा संस्थापक सेयर धारण गरी त्यो सेयरलाई लकिड. अवधिपछि सर्ब साधारण बर्गमा रुपान्तरण गरेका संस्थापकहरुले नै महंंगोमा सेयर बेच्ने मौका अहिले नै भएको भन्दै धमाधम सेयर बिक्री गर्दैछन् ।

हाइड्रोपावरहरुको बित्तीय र संस्थागत सुशासनको अवस्था अत्यन्त कमजोर देखिएको छ । नेप्सेमा सूचीकृत ४० वटा हाइड्रोपावर मध्ये २२ वटाले मात्र गत वर्षको वित्तीय विवरण प्रकाशन गरेका छन् भने, त्यसमध्ये १८ वटा मात्र नाफामा रहेको देखिएको छ । नाफामा रहेकामध्ये कयौं हाइड्रो पावर कम्पनीहरुले अर्को कम्पनीमा रहेको क्रस होल्डिड. सेयर बिक्री गरेर नाफा कमाएका हुन् भने, कतिपय हाइड्रोले नक्कली नाफा देखाएर सर्वसाधारणलाई झुक्याइरहेका छन् । नाफा भएको देखाउने हाइड्रोमा पनि ३ रुपैयाँ प्रतिसेयर आम्दानी हुनेको सेयर मूल्य ७०० रुपैयाँ नाघेको छ । यसैबाट स्पष्ट हुन्छ, हाइड्रोको सेयर चरम जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्