Logo
Logo

सोमबार टुंगिएला नेकपाको एकता ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ बैशाख ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता टुंगो लगाउने तयारी भइरहँदा कार्यकर्तामा चासो बढ्दै गएको छ । सोमबार सबै जिल्लाको नेतृत्व घोषणाको तयारी छ ।
घोषणाका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक सहमति भइसकेको स्रोत बताउँछ ।

‘उहाँहरूले शुक्रबार र शनिबार केही गृहकार्य गर्नुभएको छ, औपचारिक छलफल गर्न बाँकी छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘छिटोभन्दा छिटो घोषणा गर्न पाए हुन्थ्यो भन्नेमा हामी छौँ ।’ शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको श्रेष्ठले बताए ।
अध्यक्ष ओलीनिकट बालुवाटार स्रोतका अनुसार चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाले आइतबार पनि शीर्ष नेताहरुबीच घनिभुत रुपमा छलफल भएको छ । सहमति जुटाउने मापदण्डका सन्दर्भमा विभिन्न विकल्पमा चारै नेताले लचिलो बनेर खुला छलफल गरेका छन् । विशेषगरी पूर्वएमाले समूहमा एकता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच समझदारी जुटेको थिएन । नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन् । पछिल्ला छलफलपछि भने अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन् ।

नेताहरूबीचको पछिल्लो छलफलले आइतबारै ठोस सहमति बन्ने गरी सैद्धान्तिक आधार तयार गरेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । ‘विधि, प्रक्रियाका आधारमा मापदण्ड बनाएर टुंग्याउँ, एकताको संवेदनशील वेलामा सबैलाई अपनत्व महसुस गराउँ भन्नेमा नेताहरूबीच सैद्धान्तिक सहमति भएको छ,’ नेताहरूलाई उद्धृत गर्दै रिजालले भने, ‘मापदण्डका आधारमा नामसहित प्रस्तावलाई आइतबार ठोस रूप दिएपछि दुई अध्यक्षले केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।’

लामो समयदेखि एकता प्रक्रियाको बाँकी काम अल्झिँदा सरकार सञ्चालनमा समेत सकारात्मक प्रभाव नदेखिएपछि शीर्ष नेताहरूले पार्टी स्थापना दिवसमै टुंग्याउने गरी लगातार निर्णायक गृहकार्य गर्दै आएका छन् । शुक्रबार पनि चार नेताबीच बालुवाटारमा छलफल भएको थियो । अन्तिम गृहकार्यका लागि सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएलगत्तै बालुवाटार पुगेर अध्यक्ष प्रचण्ड छलफलमा सहभागी भएका थिए । बिहीबार अध्यक्ष ओली र प्रचण्डले वरिष्ठ नेता नेपाललाई मनाउन एकता प्रक्रियाका मापदण्डमा केन्द्रित रहेर छलफल गरेका थिए ।

वरिष्ठ नेता नेपालले जिल्ला नेतृत्वमा साबिक कमिटीमा रहेका वरिष्ठमध्येलाई चयन गर्नुपर्ने मापदण्ड अघि सार्दै आएका छन् । जनप्रतिनिधिमा निर्वा्चित र राजकीय मामिलामा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई आधार मानेर वरिष्ठताको मापदण्डअनुसार एकता टुंग्याउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्