Logo
Logo

सुरक्षित गर्भपतन सेवा अस्थायी साधन बन्दै


हिक्मत बम


डोटी । डोटीमा सुरक्षित गर्भपतन गराउने संख्या बढेपनि प्रजनन स्वास्थ्यमा समस्या बढ्दै गएको छ । सुरक्षित गर्भपतनलाई अस्थायी साधनको रुपमा लिँदा प्रजनन स्वास्थ्यमा समस्या देखा पर्दै गएको हो ।

असावधानीका कारण गर्भपतन गर्नेको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । गर्भपत गराउनेको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

आइपासको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्चद्वारा डोटीका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाबारे अध्यान गरिएको थियो । उक्त अध्यानले सुरक्षित गर्भपतन सेवा लिनेमा १८ वर्षदेखी २५ वर्षसम्मका युवतीहरु बढी रहेको देखाएको छ ।
सुरक्षित गर्भपतन सेवालाई अस्थायी साधन रुपमा लिनाले प्रजनन् स्वास्थ्यमा समस्या देखिनुका साथै बिकृतिका रुपमा फैलिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण पुरुष घरैमा हुने हुँदा नचाहँदा नचाहँदै पनि गर्भ रहेको र गर्भपतन गरउन बाध्य भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भ निरोधक साधनको प्रयोग गर्ने बानिको विकास नभएका कारण जिल्लामा गर्भपतन गराउनेको संख्या बढेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताए ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै गत वैशाखदेखि साउनसम्म ८० जना सुरक्षित गर्भपतन गराएका छन् ।

यसैगरी केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा २०० जनाले गर्भपतन सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक वर्षमा दुई हजार २०० भन्दा बढी सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताए । उनले भने, ‘समस्या परेका महिलालाई सुरक्षित गर्भपतन सेवा राम्रो हो तर यो सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, जसले गर्दा पछि महिलामा समस्या उत्पन्न हुने निश्चित छ ।’

चालू आर्थिक वर्षमा २० वर्षमुनीका २८ महिलाले सुरक्षित गर्भपतन सो लिएका छन् भने २० वर्षमाथिका ९७२ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतन गरेको रेकर्ड भने राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्