Logo
Logo

‘नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य’



काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघसँगको भेटवार्तामा उनले यस्तो बताएका ह्न । राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको समेत बताए ।

उनले नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको बताउँदै भने, ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन् ।’

रादूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यका रूपमा रहेको बताए । नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियत एवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै उनले भने, ‘बंगलादेश महिलाहरू र साना व्यवसायमा केन्द्रित हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो ।’

सो क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने उल्लेख गरेका थिए । बंगलादेशलाई ऊर्जाको ठूलो परिमाणमा उर्जाको आवश्यकता रहेको सन्दर्भमा नेपालबाट स्वच्छ उर्जा निर्यात एउटा महत्वपूर्ण विकल्प हुने अग्रवालको भनाइ छ ।

अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको राजदूतलाई जानकारी गराएको सीएनआइद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, परिसंघका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बंगलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसंघ तयार रहेको बताउँदै नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बंगलादेशलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्