Logo
Logo

आईजिपीले कामै गरेन भनेर चित्त दुखाउने ठाउँ छैनः आईजिपी खनाल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ बैशाख ।
प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले आइजिपीले काम गरेन भनेर चित्त दुखाउने ठाउँ नभएको बताएका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा आफ्नो एकवर्षे कार्यकालमा भएका कामहरुको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मलेनमा खनालले आफ्नो नेतृत्वमा प्रहरीमा धेरै सुधारका कामहरु भएको दाबी गरे ।

‘निर्मला पन्तको विषयमा सबै कुरा बाहिर आउनुपर्छ भन्ने नै छ। तर जुन कुरा अलि कम्प्लिकेसन भएको छ,’ आइजिपी खनालले थपे, ‘केही काम असफल भए भन्दैमा यसलाई आइजी बनाइदिएको कामै गरेन भनेर चित्त दुखाउनुपर्ने ठाउँ छ जस्तो मलाई लाग्दैन।’
निर्मला हत्याकाण्ड, सुन काण्ड लगायतमा असफल अनुसन्धानको बारेमा पत्रकारले सोधेका प्रश्नमा उनले आफ्नो बचाउ गरे। अहिले नै आइजीको कार्यकाल नसकिएको भन्दै उनले काम गर्न अझै बाँकी रहेको बताए।

अरुले बिगारको कामलाई पनि यसैले बिर्गायो भन्दै आइजीलाई मात्रै दोष देखाउन नमिल्ने बताउँदै उनले थपे, ‘यस्तो कुरा तर्कसंगत हुँदैन। तर संगठन प्रमुख भइसकेपछि सबै कुरा रिजर्भ गर्नुपर्छ भन्ने त छ।’

हरेक ठाउँमा नैतिक ह्रास भएको अवस्थामा प्रहरीले मात्रै सबै ठेगान लगाउँछु भन्ने कुरा सम्भव नभएको भन्दै उनले सहयोग गर्न आइजिपी खनालले अपिल गरे।

त्यसै रामबहादुर बम्जनको आश्रममा आनीहरु बेपत्ता पारिएको बारेमा बोल्दै उनले अनुसन्धान भइरहेकाले अहिले नै यसबारे केही भन्न सक्ने बताए। ‘बम्जनको विषयमा धेरै अनुसन्धान भइरहेको छ। तर यो भयो, यसरी गर्दैछौं भन्ने अवस्था छैन। अनुसन्धान कप्लिकेटेड छ। पीडित भनेर उजुरी दिएकाहरु नै ’होस्टायल’ भएको अवस्था छ। जसकारण अनुसन्धान कठिन छ,’ आइजिपी खनालले भने।
त्यस्तै नेपाल प्रहरीले आफूले गरेका कामहरु पूर्ण रुपमा पारदर्शी भएको बताउँदै उनले भने, ‘हामी एकदमै पारदर्शी छौं । संगठनकै प्रहरीलाई कारबाही गरेको समेत प्रस्ट रुपमा देखाएका छौं। म तुलना त गर्दिनँ तर अन्य संगठनको तुलनामा म पछिल्ले पंक्तिमा छु जस्तो लाग्दैन।’
पत्रकारले नकारात्मक भएको र सकारात्मक हुन उनले आग्रह गरे। कतिपय पत्रकारले विभिन्न सामान माग्ने तर नदिएपछि समाचार लेख्ने गरेको आरोप समेत लगाए।
पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले २०७५ सालका प्रहरीका उपलब्धिबारे पत्रकारलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्