Logo
Logo

मान्छे नै एम्बुलेन्स बन्नुपर्ने मोहन्याल गाउँको दुःख


हिक्मत बम


धनगढी । १२ वर्षीया पार्वती विक बिद्यालय बन्द भएको मौका छोपेर कैलालीको मोहन्याल गाउँपालिका–१ डाँडागाउँबाट दुई दिनको पैदल यात्रा तय गर्दै तामा विक्री गर्ने बौनियाँसम्म पुग्ने गरेकी छन् । बुवा खडक बिक, आमा र दाजुका साथमा उनी आँफु भन्दा ठूलो भारी बोकेर बौनियाँसम्म पुग्ने गर्दछिन् ।

पार्वतीलाई बौनियाँसम्मको यात्रा जति पट्यार लाग्दो हुन्छ फर्कदा त्यति नै सास्ती हुन्छ । तामा बेचेर आएको पैसाले पिठ्युँमा चामल बोकेर घर पुग्नु उनको विवशता हो ।

यो पार्वतीको मात्र होइन मोहन्यालका अधिकांश बालबालिका परिवारको पछि लागेर भारी बोकेर बौनियाँ पुग्ने र चामल लिएर फर्कने गर्दछन् । विकासको लागि कसैले ध्यान नदिनु, नेता र नेतृत्वकर्ताले कसैको पनि चासो नलिँदा यो समस्या आएको मोहन्याल वडानम्बर २ राक्साका टेकचन बुढामगरको दुखेसो छ ।

टेकचन भन्छन्,‘जटिल रोग वा दूर्घटना भयो भने विरामीलाई अस्पताल लैजानका लागि समेत सुविधा नभएका कारण विरामीको बिचबाटोमै मृत्यु हुने खतरा रहन्छ ।’

उकालो र भिराले भू—भाग भएको मोहन्यालका अधिकाँश बाटाहरुमा न त बर्षातको जंघार तर्ने पुलनै छ नत सडक सञ्जाल नै राम्रो छ ।

सोही गाउँको वडा नम्बर १ बस्ने कमल बुढामगरको पनि टेकचनको भन्दा फरक दुःख छैन । बिरामी पर्दा मानिस नै एम्बुलेन्स बन्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।अहिले पनि मोहन्यालमा स्वास्थ्य चौकी र चिकित्सक छैनन् । सर्पले टोके झारफुक गर्ने चलन छ । धेरैले त्यसरी नै ज्यान गुमाइसके । नत राज्यको त्यसतर्फ ध्याननै जान सकेको छ नत सडक सञ्जालको विकास गर्न सकेको छ ।

हालसालै केहि वडाहरुमा अव्यवस्थित रुपले कोरिएका बाटोहरु पहिरो र खहरेमा परिणत भएका कारण यातायातका साधन चल्ने अवस्था छैन । बर्षातका ५ महिना त मोहन्यालबासीले कष्टकर समय बिताउने गर्दछन् ।

सुगम जिल्ला कैलालीका दुर्गम पहाडी गाउँपालिकाका जनताले सडक नहुँदा समस्या भोग्ने गरेका छन् । दयनीय र कष्टकर जीवन बिताउन बाध्य छन् । मोहन्यालका जनताका समस्या समाधानका लागि तत्काल विकासका पूर्वाधारमा जोड दिईनुपर्ने माग स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्