Logo
Logo

पेन्डिङ मुद्दाको सफल अनुसन्धान गर्न प्रहरी महानिरीक्षकको निर्देशन




काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पेन्डिङ मुद्दाहरुको सफल अनुसन्धान गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीको साउन महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले पीडितले समयमै न्यायको आभाष गर्न नसकेको अवस्थामा प्रहरीप्रतिको संस्थागत विश्वास कम हुँदै जाने भएकोले त्यसप्रति संवेदनशील भई कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अभियोजन कर्ता प्रहरी र अदालतवीच संस्थागत र संरचनागत समन्वयलाई अझ प्रभावकारी बनाई पेन्डिङ मुद्दाहरुको सफल अनुसन्धान गर्नेतर्फ केन्द्रीत हुन आग्रह गरेका हुन् । फरार अपराधी पक्राउ सम्बन्धी थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले ट्राफिक व्यवस्थापनलाई अझै सुदृढ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।


कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तथ्याङ्क तथा तथ्यहरुको विश्लेषण गर्दा गत साउन महिनामा जघन्य अपराधमा कमी आएको चर्चा गर्दै संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिका विरुद्ध हुने अपराध एवम् जबरजस्ती करणी लगायतका अपराधहरु नियन्त्रण गर्न विशेष चनाखो भई कार्यसम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका हुन् । लागूऔषध कारोबारमा संलग्न पक्राउ तथा लागूऔषध बरामद सम्बन्धमा प्रहरीले उल्लेखनीय कार्य गरेको बताउँदै उहाँले लागूऔषधको मागलाई नियन्त्रण गर्न समुदायलाई थप परिचालित गर्नुपर्नेतर्फ ध्यान केन्द्रीत गर्न आग्र गरे ।


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ को नियन्त्रणमा तथा विपद्को अवस्थामा प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आउँदा दिनहरुमा समेत थप सजगता अपनाई काम कारवाही गर्न उपस्थित सबै प्रदेश प्रहरी प्रमुख तथा प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
समीक्षा कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानवस्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानवअधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वयमा प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे साउन महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्