Logo
Logo

नेकपाका नौ केन्द्रीय सदस्य जिल्ला कमिटीमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० बैशाख ।
जिल्ला कमिटीको एकता प्रक्रिया मिलाउँदा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौजना केन्द्रीय सदस्य जिल्ला सचिव भएका छन्। तत्कालीन माओवादीतर्फका आठजना र पूर्वएमालेका एकजना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका हुन। उनीहरुले अब आफूभन्दा कनिष्ठको मातहत रहेर काम गर्नुपर्ने अवस्था आएको छ। जसकारण उनीहरु जिल्ला कमिटीको पदमा नहरे सम्भावना छ ।


केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमकट्टेल (धादिङ), दधिराम न्यौपाने (रुपन्देही) र प्रमोदनारायण यादव (सिरहा) छन्। प्रमोदनारायण यादव मात्रै पूर्वएमालेका तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन भएका थिए।

मोरङमा तत्कालीन एमालेको अध्यक्षसमेत रहेका र हाल केन्द्रीय सदस्यमा बढुवा भएका विनोद ढकाल अध्यक्ष बनेका छन्। पूर्वमाओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय सदस्य भए पनि पूर्वएमालेबाट जिल्ला अध्यक्ष बन्नेमा ढकाल र कृष्ण राई मात्र केन्द्रीय सदस्य हुन्। पूर्वएमालेका तर्फबाट अध्यक्ष भएकाहरुले आफू सचिवमा बस्नुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। खोटाङका बबी चाम्लिङ, उदयपुरका ईश्वरमणि राउत, कञ्चनपुरका तारा लामा, डडेल्धुराका डा. तारा जोशी, रामेछापका शान्तिप्रसाद पौडेल आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट भएका छन्। तत्कालको एकतामा उनीहरुलाई नै राखिएको र छिट्टै हेरफेर गरिने नेकपाका एक केन्द्रीय नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्