Logo
Logo

कोहलपुरका डिएसपीका कारण प्रहरी संगठन नै बदनाम


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० बैशाख ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहका कारण सिंगो प्रहरी संगठन बदनाम भएको छ । उनीमाथि कारबाही गर्न राष्ट्रिय मानव अधिकार अयोगले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ ।


आयोग नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा बसेका दानबहादुर फडेरालाई गिरफ्तार गर्न सिंहको कमाण्डमा गएको प्रहरीले आईतबार राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको थियो ।

विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार भएका हुम्ला जिल्ला ओदानचुली नगरपालिका घरभई बाँकेको कोहलपुर नपा– ११ एकतानगर बस्दै आएका ३५ वर्षीय दानबहादुर फडेरालाई जिल्ला अदालतले आईतबार साधारण तारेखमा रिहा गरेको थियो । रिहा लगत्तै पुनः गिरफ्तारीमा पर्ने डरले आयोको कार्यालयमा शरण लिन पुगेका फडेरालाई राती इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डमा पुगेको प्रहरी टोलीले अनाधिकृत रूपमा आयोगमा प्रवेशको प्रयास गर्दै आयोगका सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएको घटनाप्रति बाँकेका मानव अधिकारकर्मीको ध्यानाकर्षण भएको आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाँईले बताए ।
ध्यानाकर्षण पत्रमा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि पेरिस सिद्धान्त बमोजिम स्थापना भएको संवैधानिक र स्वायत्त निकाय राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय नेपालगन्जमा कार्यालयको वरिपरी सुरक्षाकर्मीले अनावश्यक घेराबन्दी गरिरहेको घटनाले गम्भीर बनाएको उल्लेख गरिएको छ ।

नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, आयोगका प्रमुख चन्द्रकान्त चापागाई, नेपालगन्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष मो अयुब सिद्दीकी, इन्सेक प्रदेश ५ कार्यालयका संयोजक भोला महत, एडभोकेसी फोरमका संयोजक बसन्त गौतमलगायतले घटनाको विरोध गरेका हुन् ।

आइतबार अदालतबाट रिहा भए लगत्तै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्जस्थित प्रदेश शाखा कार्यालय पुगेका थिए ।
आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आईतबार रातीसम्मै आयोगको कार्यालय घेराउ गरेको थियो । अदालत परिसरमै पक्राउ गर्न लागेको खबर पाए लगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोगका नेपालगन्ज शाखा प्रमुख चापागाईले बताए ।
डिएसपी सिंह बदनाम प्रहरी अधिकृत हुन् । यसअघि ललितपुर परिसरमा हुँदा उनी घुससहित रंगेहात पक्राउ परेका थिए । तर बिशेष अदालतमा सेटिङ मिलाई सफाई पाएका थिए । सफाई पाएपछि बढुवा भएर उनले इन्चार्ज पाएका थिए ।
यसअघि एक नाबालकलाई गोली हानेको घटनामा पनि मानवअधिकार आयोगले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्