Logo
Logo

‘बा’को मुख होइन, दुःख हेरौँ



बा,
कविले लेख्न नसक्ने विषादहरू,
कहाँ लुकाउँछौँ ?
संगीत बन्न नसकेका
नुनिलो खोलाका सुस्केराहरू
कसलाई सुनाउँछौँ ?
न कुनै दराज छ, न मदुस
बाध्यताका पहाडहरू
संघर्षका सागरहरू
समर्पणका गाथाहरु
कहाँ लुकाउँछौँ ?

यी प्रश्नहरूका जवाफ मेरा ‘बा’बाट कहिल्यै पाइनँ । सायद, ‘ओली बा’लाई सोधेको भए सजिलै पाउने थिएँ होला ! तर, सस्ता ‘बा’ सबैका ‘बा’सँग सोध्न मनले मानेन ।

छन त छन् बजारमा अरु पनि ‘बा’हरु । ती ‘बा’हरू जताततै भेटिन्छन् । कोही ‘बा’ सडक र चोकमा, कोही सन्तानका भोकमा । कोही ‘बा’ खाडीमा, कोही चिल्ला गाडीमा । दुवै ‘बा’हरू बस्ने भनेको चाहिँ भित्तामै हुन् । फरक यतिमात्रै हो, गाडीका ‘बा’ सडक र सामाजिक सञ्जालका भित्तामा, खाडीका ‘बा’ मनका भित्तामा ।

‘बा’ पनि थरिथरिका । एमालेका बा, ‘ओली बा’ ! काँग्रेसका देउवा ! माओवादीका बा– दोरम्बा ! राई–लिम्बूलाई मनपर्ने बा, तुम्बा ! प्रेमी जोडीका बा– चुम्बा ! धार्मिक बा– गुम्बा ! जागिरेका बा–सुब्बा ! जडिबुटीका बा– यर्सागुम्बा ! विद्यार्थीका बा– गुरूबा ! छोराछोरीका बा– जन्मदिने ‘बा’ ।
थरिथरिका ‘बा’का काम पनि थरिथरि । एमालेका ‘बा’ले देश डुबाए, पार्टी फुटाए । काँग्रेसका ‘बा’को चार सन्तान, ज्योतिषको वरदान । माओवादीका ‘बा’ कहिल्यै फर्किएनन्, छोराछोरीको विचल्ली । जडिबुटीका ‘बा’, दिल निशानी मगरलाई मात्रै थाहा !

प्रेमी जोडीका ‘बा’, डेटिङ जानेलाई सोध्नु । राई–लिम्बूको ‘बा’ कस्तो हुन्छ भन्ने गायक महेश बुढाथोकीलाई सोध्नु । जागिरेको ‘बा’को स्याङ्जाली गुल्मेलीलाई सोध्नु । धार्मिक ‘बा’को काख, गौतम बुद्धलाई सोध्नु । गुरूबा त सबैले चिने–जानेकै हुन् । अझ बढी जान्ने इन्छा भए कुखुरा बन्ने विद्यार्थीलाई सोध्नु ।

मेरा ‘बा’बारे मलाई नसोध्नु । मेरो ‘बा’लाई पनि नसोध्नु । किनकि, बाका वर्णन गर्ने शब्द नै छैन, ‘बा’लाई आफ्नोबारे भन्ने फुर्सद ।
हरेकदिन बिहान हुन्छ । बिहान ढलेपछि दिँउसो । र, दिन ढलेपछि साँझ । यिनै बिहान, दिउँसो र साँझको क्रमसँगै कहिले छोरा त, कहिले ‘बा’को भूमिका निर्वाह गर्नेक्रम चलिरहन्छ । छोरादेखि जब ‘बा’मा परिर्वन हुन्छ, उभित्र परिवारको रूप भेटिन्छ ।

‘बा’ले हाम्रो निम्ति अनेक किसिमको जीवन बाँच्छन् । अहिले पनि कसैका ‘बा’ हिउँको कठ्यांग्रिदो चिसो ठन्डीमा होलान्, कसैका मरुभूमिको गर्मीमा । कसै–कसैका चाहिँ नेपालमै अवसरहरूसँग पैंठेजोरी खेल्दै होलान् ।

बा, सन्तानको लागि कहिले टाढा हुन्छन्, कहिले नजिक । कहिले साथी त कहिले गुरुबा । त्यसैले त वेन रुनीले भनेका छन्, ‘बा बन्नु भनेको तिमी आफ्नो सन्तानका लागि रोल मोडल बन्नु हो ।’

समग्रमा ‘बा’ संघर्ष, समर्पण र बाध्यताको एक शब्द हो । जसले आफ्ना सन्ताको लागि के–के चाहिँ गर्दैनन् ? सन्तानको जीतका लागि सबै कुरा हार्छन् । शिक्षा–दीक्षाका लागि आफ्नो गाँस कटाउँछन् । कैयौँ भारी बोक्नछन् । पसिनाको खोला बगाउँछन् । उकाली, ओराली र लेकबेसी धाउँछन् । जस्तासुकै परिस्थितिमा पनि छाड्दैनन्, सन्तानका खातिर युद्धमोर्चामा खट्न ।

‘बा’सँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिँदै जान्छ । समयचक्रले हरेकप्रति हेर्ने र बुझ्ने धारणा परिवर्तन गराइदिन्छ । सानो छँदा उनी हाम्रा संरक्षकको रुपमा हुन्छन् । सोच्छौँ– ‘मेरो बा संसारका सबैभन्दा शक्तिशाली हुन् ।’ उनकै काँधमा चढेर छातीमा खुट्टा राख्र्छौँ, टाउकोको कपाल मुसार्छौँ, मज्जा लिन्छौँ ।

किशोर÷किशोरी भएपछि गतल बाटोमा लाग्लान् भनेर बाँसको चोया काढेझैँ गल्ती र कमजोरीहरू केलाउँछन्, झपार्छन्, कराउँछन् । त्यसबेला लाग्छ– अबुझ, अशिक्षित, गनगने । ‘बा’को महत्व र उपस्थितीलाई बुझ्दैनौँ । बरु, उल्टै रिसाउँछौँ ।

जब, हामी जागिर खान थाल्छौँ । पैसा कमाउँछौँ । सफल हुन्छौँ । बुबालाई बुढ्यौलीले छोपिसकेको हुन्छ । त्यतिबेला लाग्छ– ‘बा’ कमजोर, निरीह ।

हो, हामी ‘बा’लाई हामीले अनेक रुपमा देख्छौँ । विडम्बना के छ भने, जतिबेला ‘बा’को महत्व अनुभूत गर्न थाल्छौँ, त्यसबेला हामीसँग ‘बा’ नहुन पनि सक्छन् । त्यसैले त लेखक बुद्धिसागरले ‘कर्णाली ब्लुज’मा लेखेका छन्– जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन । जतिबेला मैले बुबालाई बुझेँ, त्यसबेला मसँग बुबा हुनुहुन्थ्यो ।’

हामीमा बगेको रगत, अडेको संस्कार, गढेका सपनाहरू र सिकेको संर्घष हाम्रा ‘बा’कै कथा हुन् । जब जीवनमा दुःख आइपर्छ । संघर्षसँग परेट खेल्न थाल्छौँ, चोट लाग्छ । भन्छौँ– ऐया बा ! मरेनि बा ! यो शब्द भनेकोभन्दा पनि मनभित्रबाट अनायासै निस्कन्छ, शक्ति बनेर । त्यसैले त भन्छन्– ‘संघर्ष बा’बाट सिक्नु, संस्कार आमाबाट । बाँकी त दुनियाँले सिकाउँछ ।’

सन्तानको लागि एउटी आमाले जति योगदान गरेकी हुन्छिन् । ‘बा’को पनि त्योभन्दा कम हुँदैन । एकै रथका दुई पाङ्ग्रा भएकाले बा–आमालाई उतिकै सम्मान गरिन्छ । त्यसैले त भनिन्छ– मातृ देवो भव ! पितृ देवो भव !! गुरू देवो भव !!!

बा–आमालाई जिउँदो भगवानको रुपमा नलिनेहरू पनि धेरै भेटिन्छन् । जब छोराछोरी आफैँ केही गर्न सक्षम हुन्छन्, तब अभिभावकलाई बिर्सिन्छन्, बेवास्ता गर्छन् । छोराछोरी भएपनि निःसन्तान जस्तो भएर कयौँ बसेका छन् ।

अनि वर्षमा एकदिन मनाइने बुवाको मुख हेर्ने दिनचाहिँ सामाजिक सञ्जाल रंग्याउछन् । आ–आफ्ना ‘बा’लाई मनपर्ने मिठाई तथा भोजन गराएको तस्बिर छरपस्ट हुन्छ । अरूलाई देखाउनै लागि भएपनि ‘बुबाको मुख हेर्ने दिन’ मनाउँछौँ ।

यता, छोराछोरी सामाजिक सञ्जालका भित्तामा तस्बिर सजाएर ‘हेप्पी फादर्स डे’ भन्दै रमाएको हुन्छ, उता गाउँमा बुढा ‘बा’का आँखा छोरा वा छोरीको बाटो हेरेर रसाउँछ । यसरी ‘बा’प्रति सामाजिक सञ्जालमा राखिएका तस्बिर, ती गाउँमा भएका बाले हेर्न पाए कति खुसी हुन्थे ।
‘बा’को तस्बिर सामाजिक सञ्जालमा राख्नुलाई अन्यथा मान्न खोजेको होइन, तर तिनै बाको तस्बिर राखेर कुशे औँसी मनाउनेमध्ये कतिले ‘बा’लाई मनमा राखेका होलान् ? भने प्रश्न सधैं मनमान हुन्छ ।

‘बुबाको मुख हेर्ने दिन’को आफ्नै विशेषता र महत्व छ । यो दिवस फेसनजस्तो नबनोस् । देखावटी नबनोस् । खराब कुरालाई हाबी हुन नदिऔँ । एक असल सन्तान बन्ने कोशिस गरौँ, आमाबुवाप्रति निभाउनुपर्ने कर्तव्य पालना गरौँ । सबै ‘बा’हरुलाई बुबा दिवसको अवसरमा सम्मान तथा शुभकामना !

प्रतिक्रिया दिनुहोस्