Logo
Logo

गुठीको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा



काठमाडौं । काठमाडौंको बबरमहलमा गुठीको तीन रोपनी ६ आना जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । हाल काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने लक्ष्मीनारायण गुठीको तीन रोपनी ६ आना ३ पैसा दुई दाम कीर्ते कागजपत्रका कब्जा भएको हो ।
कित्ता नम्बर ५५ मा रहेको सो जग्गा गुठीको नाममा ल्याउनुपर्ने स्थानीयको माग छ । २०२० सालमा नै त्यहाँको लक्ष्मीनारायण गुठीको जग्गा गोपाल श्रेष्ठको नाममा राजीनामा पास भएको थियो । मालपोत कार्यालय पर्साबाट बेजिल्ला पास गरी गुठीको जग्गा व्यक्तिको नाममा लगिएको हो । त्यो जग्गा फर्काउन पहल भएको छैन ।

सो जग्गा हाल इन्दिरा श्रेष्ठ र जयपाल श्रेष्ठको नाममा रहेको मालपोत कार्यालयको विवरणमा उल्लेख छ । सो मन्दिरमा गुठी संस्थानले पूजारीसमेत नियुक्त गरी पुजारीले पूजा आजा गरी आएको मन्दिर स्थापना गर्दा वि.स. १९४९ मा दाताले देखाएको शिलालेखमा उल्लेख भएको मन्दिर सहितको गुठीको जग्गा भएको उल्लेख छ । गुठीको जग्गा अनाधिकृत रुपमा वीरगंज मालपोतबाट व्यक्तिका नाममा रजिष्ट्रेशन पारित भएको हुनाले सो गुठीको जग्गा व्यक्तिको नाममा दर्ता भएको गुठी संस्थाले बदर गर्न सक्ने भएपछि त्यसतर्फ गुठीका अधिकारीले पनि चासो दिएका छैनन् । यसमा ठूलो आर्थिक चलखेल रहेको स्रोत बताउँछ ।

देशभरिका गुठीका जग्गा भूमाफियाका कारण जोखिममा परेका छन् । गुठीका विभिन्न जिल्लाका बहुमुल्य जग्गाहरु जालसाजी गरी व्यक्तिको नाममा लगिएको एक अध्ययननले देखाएको छ । पूर्व न्यायाधीश मोहनरमण भट्टराई अध्यक्षतामा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धि जाँचबुझ आयोगले गुठीका सयौं रोपनी जग्गा भूमाफियाले कब्जा गरेको औंल्याएको छ ।

खोटाङको हलेसीदेखि पाल्पाको रानीमहलसम्मको जग्गा हिनामिना भएको सो समितिको ठहर छ । भट्टराई समितिको प्रतिवेदनअनुसार गुठीको जग्गा संरक्षणमा सरकारको ध्यान जानुपर्ने हो । तर सरकार पनि बिचौलियाको चंगुलमा फसेको कारण गुठीको सयौं रोपनी जग्गा माफियाले रजगज गर्दै आएका छन् ।

हलेसीको एक सय ४३ रोपनी जग्गा गायब
पूर्वको चर्चित धार्मिक गन्तव्य हलेसी महादेव मन्दिरको जग्गा समेत व्यक्तिको नाममा कायम भइसकेको छ । हाल हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा रहेको एक सय ४३ रोपनी सात आना जग्गा हिनामिना भएको हो । हलेसी महादेव गुठीको जग्गा महन्थ पूजारी सहितका व्यक्तिले आफ्नो नाममा दर्ता गरी बिक्रि वितरण गरेको आयोगले जनाएको छ ।

‘सो जग्गाहरूको व्यक्तिको नाममा स्रेस्ता गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) बमोजिम बदर गरी लगत कट्टा समेत गरी हलेसी महादेवको तैनाथी गुठीमा लगत कायम गर्न सम्बन्धित गुठी संस्थानलाई नेपाल सरकारबाट निर्देशन हुनुपर्ने’ आयोगले सिफारिस गरेको छ ।

गुठीको १० बिगाहाभन्दा धेरै जग्गा महन्थहरुको कब्जामा
जनकपुरमा गुठीका १० बिगाहाभन्दा धेरै जग्गा महन्थहरुले नै बिक्रि गरेका छन् । विभिन्न कित्ताका १० बिगाहा १ कठ्ठा १७ धुर जग्गा महन्तहरुले आफ्नो नाममा दर्ता गरी हक हस्तान्तरण समेत गरी हिनामिना गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सो जग्गाको श्रेस्ता बदर गरी सो जग्गा गुठीको नाममा कायम गर्न सिफारिस गरिएको छ । गुठीको जग्गा आफ्नो नाममा दर्ता गरी हक हस्तान्तरण गर्ने जगन्नाद दास लगायतमाथि भ्रष्टाचारको कसुरमा छानबिन गर्न भनिएको छ ।

भक्तपुर पनि हिनामिना
भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा पनि ६ रोपनी ७ आना एक पैसा जग्गा हिनामिना भएको छ । कित्तार नम्बर ५९५ मा पर्ने कमलपोखरी गुठीको जग्गा मोही नै नभएको व्यक्तिलाई मोही मानी गुठी रैतानी नम्बरीमा दर्ता गर्ने गरी गुठी संस्थान सञ्चालक समितिबाटै निर्णय गरी व्यक्तिको नाममा दर्ता गरिएको छ ।
गुठी संस्थान ऐन विपरीत त्यस्तो निर्णय भएकाले त्यसलाई बदर गरी सो जग्गा कमलपोखरी नै कायम गर्न र यसमा संलग्नलाई भ्रष्टाचारसम्बन्धि कानूनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

बागेश्वरीमा पनि हिनामिना
बाँकेको बागेश्वरी गुठीको ८४ विगाहा जग्गा हिनामिना भएको आयोगको छानबिनमा खुलेको छ । पटक पटक गरेर जग्गा व्यक्तिको नाममा रैतानी करार गरिएको हो ।
मन्दिरका पूजारीबाटै १७ विगाहा जग्गा आफ्नो नाममा राखेर बेचबिखन गरेका हुन् । जग्गा कमाउने व्यक्तिहरुको नाममा गुठी तैनाथी जग्गा रैतानी परिणत गरेकाले सो जग्गा बागेश्वरी गुठीकै नाममा फिर्ता ल्याउन मालपोत कार्यालय बाँकेलाई निर्देशन दिन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

भैरहवामा पनि हिनामिना
रुपन्देहीको लक्ष्मीनारायण मठको जग्गा पनि व्यक्तिको नाममा दर्ता गरिएको छ । सिद्धार्थनगर–६ मा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ मा रहेको ३ कठ्ठा दुई धुर जग्गा अनियमिता भएको हो । मठका महन्थ जगन्नाथ दास वैष्णवले सञ्जय कुमार पाण्डे र उदयमान पाण्डेको नाममा राजीनामा पारित गरेका थिए । मठको जग्गालाई निजी जस्तो गरी जग्गाको दर्ता बदर गर्न गुठी संस्थानलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा सिफारिस गरिएको छ । गुठीको जग्गाको श्रेस्ता सच्याई हक हस्तान्तरण गरेको देखिएकाले यसमा संलग्न कर्मचारीमाथि समेत कारबाही गर्नुपर्ने सिफारिशमा उल्लेख छ ।

जनकपुरमा मन्दिरमा पनि हिनामिना
जनकपुरमा पनि गुठीको जग्गा सट्टापट्टाको नाममा हिनामिना भएको पुष्टि भएको छ । स्थानीय सञ्जय कुमार मिश्रसँग मिलेर जनकपुरको सिट नम्बर १३९६–०८ नम्बरको कित्ता नम्बर ४८ १८ धुर जग्गा मिश्रले लिएका हुन् । उनको कित्ता नम्बर १०८ मा रहेको जग्गा गुठीलाई दिने भनेर बहुमुल्य जग्गा आफ्नो नाममा दर्ता गराएका हुन् । यसमा अनियमितता भएको आयोगको ठहर छ ।

गुठी संस्थानको प्रधान कार्यालयबाट समेत सहमति नहँुदा नहुँदा जग्गा साटफेर गरेर अनियमितता भएको थियो । ‘यसरी चक्लाबन्दी मिलाउने प्रयोजनका लागि जग्गा सट्टापट्टा गर्ने सञ्चालक समितिबाट निर्णय भएको देखिए पनि सट्टापट्टा गर्नुपर्ने आवश्यकता कही कतै पुष्टि हुने आधार देखिएको छैन र के कसरी चक्लाबन्दी मिलाउने अवस्था रह्यो भन्ने कुरा पनि देखिएको छैन,’ आयोगको प्रतिवेदनमा भनिएको छ ।

यो जग्गा गुठी संस्थाको आवश्यकताबाट सट्टापट्टा भएको नभई निवेदक सञ्जय कुमार मिश्रको आवश्यकताबाट सट्टापट्टा भएको भन्ने निजको पटक पटकको निवेदन र सोही कार्यमा अग्रसर भई भएको तोक आदेश समेतबाट देखिएको हुनाले सट्टापट्ट गरी लिने दिने जग्गाका सम्बन्धमा कुनै जग्गाको अवस्थिति र आवश्यकताको विषयमा ठोस आधार विना सट्टापट्टा गरी दिइएको पाइएकाले बदनियतपूर्वक सञ्जय कुमार मिश्र र गुठी संस्थानका व्यक्तिहरुबीच मिलेमतो गरी सो कित्ता नम्बर ४५ को १८ धुर जग्गा सट्टापट्टा गरी दूषित रुपमा लिनेदिने गरेको पाइएकोले सो कार्यसंस्थान ऐन २०३३ को दफा ५१ भावना विपरीत देखिंदा सोही ऐनको दफा ३९ बमोजिम पूर्ववत् अवस्थामा ल्याउने गरी गुठी संस्थानलाई नेपाल सरकारबाट निर्देशन हुनुपर्ने देखिएकाले सोही बमोजिम हुन नेपाल सरकारलाई सिफारिस गरिएको छ ।’

महोत्तरीमा पनि हडप
महोत्तरीको मटिहानीमा पनि गुठीको जग्ग महन्तको नाममा दर्ता गरिएको पाइएको छ । कित्तार नम्बर ९० मा पर्ने १७ कठ्ठा ५ धुर जग्गा १७ जेठ २०५६ मा जगन्नाथ दास वैष्णवका नाममा काय भएको थियो । गुठीको जग्गाको व्यक्तिको नामबाट बदर गरी लक्ष्मीनारायण मठ मटिहानीको नाममा कायम गर्न आयोगले सिफारिस गरेको छ । साथै आयोगले लक्ष्मीनारायण मठका धेरै जग्गाहरु चेलाका नाममा दर्ता भएकाले यसको खोजी गरी गुठीकै नाममा ल्याउन समेत सिफारिस गरेको छ ।

स्याङजाको गणेशपुरमा रहेको मुक्तिनाथ सदावर्त गुठीको जग्गा पनि हिनामिना भएको छ । कित्ता नम्बर ४०६ मा पर्ने जग्गा फिल्डबुकमा किसानको महल खाली र जग्गावालाको महलमा राजगुठी लेखिएको जग्गाको स्रेस्ता नै कायम नगरिएको आयोगले औंल्याएको छ ।

रानीमहलको जग्गा हिनामिना
पाल्पाको चर्चित पर्यटकीय क्षेत्र रानीमहलस्थित खङग भक्तेश्वर गुठीको जग्गा हिनामिनाबारे आयोगले छानबिन गरेको थियो । गुठीको नाममा रहेको १२ रोपनी २ आना दुई पैसा जग्गा मुक्तेश्वर महादेव गुठीको नामा जालसाझीपूर्वक लगिएकाले सच्याउन भनिएको छ । पाल्पाको मालपोत कार्यालयमा २०६२ सालका् १८ जेठमा आगलागी हुँदा सबै कागजपत्र जलेका थिए ।

कृत्रिम कागजपत्र तयार पारी दुषित मनसायपूर्वक खङग भक्तेश्वर गुठीको जग्गालाई मुक्तेश्वर महादेव भनी लेखाई स्रोत बनाएको र सो जग्गाहरु रैतान समेत नगरिएको आयोगले जनाएको छ । नक्कली कागजपत्र तयार गरी अर्काे गुठीको नाममा जग्गा दर्ता गर्ने कर्मचारी, स्थानीय निकायका पदाधिकारी र आफ्ना नाममा जग्गा दर्ता गराउने व्यक्तिहरुलाई समेत आयोगले भ्रष्टाचार मुद्दामा कारबाही सिफारिस गरेको छ । त्यसैगरी तानसेन प्रवासको आँपको बगैँचा र ताल पनि अतिक्रमित भएको छ । यस विषयमा सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाए पनि अहिले अख्तियारसमेत मौन छ ।

बझाङको चैनपुरस्थित शिलालय गुठीको ८ रोपनी १३ आना ३ दाम जग्गा पनि व्यक्तिको नाममा गएको औंल्याइएको छ । कित्ता नम्बर ६५९ र ६६४ मा रहेको गुठीको जग्गा व्यक्ति बिशेषको नाममा दर्ता भई हक हस्तान्तरण भएकाले शिवालय गुठीकै नाममा कायम गर्न नेपाल सरकारबाट गुठी संस्थानलाई निर्देशन दिन भनिएको छ ।

बालुवाटार जग्गा हिनामिना प्रकरण बाहिर आएपछि यस्ता थप हिनामिनाबारे छानबिन गर्न सो आयोग गठन भएको हो । आयोगले प्रतिवेदन दिएको पनि करिब एक वर्ष भइसकेको छ । तर, प्रतिवेदन कार्यान्वायन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त प्रतिवेदन कार्यान्वयन नगरेको हो ।

प्रतिक्रिया दिनुहोस्