Logo
Logo

मालपोत र वनका आठ कर्मचारी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ बैशाख ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत र वन कार्यालयका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मंगलबार दायर दुईवटा मुद्दामा आठजनालाई प्रतिवादी बनाइएको छ । आयोगले नक्कली कागजपत्रका आधारमा एउटाको जग्गा अर्काे व्यक्तिको नाममा पास गरिदिने मालपोत कार्यालय सुनसरीका चार कर्मचारी तथा वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ ।

तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, नासु डिल्लीराम कोइराला, सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लो, धरान नगरपालिका–१४ का तत्कालीन वडाध्यक्ष कर्णबहादुर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

नक्कली जग्गाधनी खडा गरी जग्गा पास
धरान नगरपालिकाको वडा नम्बर ११, ३५ र ३६ मा रहेको खगेन्द्रकुमारी गिरीको जग्गा उनका हकदारलाई नदिई अन्य व्यक्तिलाई मालपोत कर्मचारी पास गरिदिएका थिए । खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई नक्कली जग्गाधनी खडा गरी कृष्णकुमार राईको नाममा हस्तान्तरण गरिएको थियो । मालपोत कार्यालयकै मिलेमतोमा त्यसरी जग्गा कीर्ते कागजपत्रका आधारमा पास भएको थियो । वडाध्यक्ष राईले समेत गलत सिफारिस गरेका थिए । जग्गाका वास्तविक हकदारले दिएको उजुरीका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।

लिलामीको सामान उठाउन सेवाग्राहीसँग घुस
आयोगले डिभिजन वन कार्यालय, सिमराका तीन कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । डिभिजनल वन अधिकृत शिवशंकर ठाकुर लोहार, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीविरुद्ध मुद्दा दायर भएको हो । डिभिजनल वन अधिकृत लोहारले कवाडी सामानका लागि बोलपत्र आह्वान गर्दा लिलामी परेपछि सामान उठाउन सेवाग्राहीसँग घुस ल्एिका थिए ।

अख्तियारको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सहायक वन अधिकृत केसरीलाई २५ हजार तथा कार्यालय सहयोगी अधिकारीलाई ९० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा डिभिजनल वन अधिकृत लोहारकै मिलेमतो रहेको फेला परेपछि उनलाई समेत पक्राउ गरी आयोगले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्