Logo
Logo

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बहिष्कार गर्ने भएको छ । एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आइरहेकाले सर्वदलीय छलफल गरेर समाधान खोज्नका लागि सभामुखले बैठक बोलाएका हुन् । तर, एमाले सो बैठकमा सहभागी नहुने प्रमुख सचेतक बिशाल भट्टराईले बताए ।

‘एमालेसँग सरोकार रहेको बिषयमा अरु दललाई किन साक्षी राखेर बैठक बस्नुपर्यो ? सिधै एमाले शिर्ष नेताहरुसँग बसेर छलफल गरे भैगो नि’ एमाले प्रमुख सचेतक भट्टराईले भने, ‘सर्वदलीय बैठकमा हामी सहभागि हुदैनौं, बैठक बहिष्कार गरेको जानकारी समेत सभामुखलाई जानकारी गराईसकेको छु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपश्चात भट्टराईले सभामुख सापकोटालाई फोन गरेर आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेका छन् । आफूहरुले कारबाही गरिसकेको र अबैध भन्दै आएको दलको सहभागितामा हुने सर्वदलीय बैठकमा एमालेको सहभागिता नहुने अडान ओलीको रहेको छ ।

एमालेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई दल दर्ताअघि कारवाही गरेको थियो । कारवाही गरिएको सूचना टाँस सापकोटाले नगरेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक संसद भवनको ल्होत्से हलमा बस्दै छ । बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई बोलाइएको छ ।

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ । २३ भदौ गतेदेखि सुरु भएको संसद अधिवेशनमा एमालेले अवरुद्ध गरिरहेको छ । तर आफ्नै मागको बारेमा समाधान खोजन बोलाईएको सर्वदलीय बैठक एमाले बहिष्कार गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्