रानाथारुलाई कामकाजी भाषाबाट हटाएको भन्दै धनगढीमा प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

रानाथारुलाई कामकाजी भाषाबाट हटाएको भन्दै धनगढीमा प्रदर्शन


हिक्मत बम


धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रानाथारु समुदायले प्रदर्शन गरेका छन् । प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपूर्वक रानाथारु भाषा हटाइएको भन्दै सोमबार धनगढीमा र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो ।

नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा षडयन्त्रपूर्वक रानाथारु भाषा हटाइएको र रानाथारुको आरक्षणको सुनिश्चितताका लागि दबाब स्वरूप विरोध र्‍यालीसहित विरोध प्रदर्शन गरिएको जनाइएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले देउवा सरकारको ठाडो निर्देशनमा रानाथारु भाषालाई सूचिबाट अटाइएको आरोप लगाए । उनले पश्चिम नेपालमा बसोबास गर्ने रानाथारुहरुको अस्तित्व समास्त गर्न सरकारले कामकाजी भाषाको सिफारिसबाट भाषा हटाएको बताए ।

‘सबै प्रक्रिया पुर्‍याएर हामीले भाषा आयोगमा कागजात पुर्‍याएका थियौँ, त्यहाँबाट पनि सरकारी कामकाजी भाषाको मान्यता दिइने आश्वासन आएको थियौँ ‘ रानाले भने, ‘हामी उत्साहित थियौँ तर प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा हाम्रो भाषालाई छुटाइयो, हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

आयोगले प्रदेशको भाषाको तथ्याङ्क विश्लेषण गर्दा प्रदेशगत जनसंख्याको एक प्रतिशतभन्दा अधिक वक्ता संख्या भएका भाषाको आधारमा सरकारी कामकाजको सम्भाव्य सूचीमा नेपाली बाहेक अन्य पाँच भाषालाई छनोट गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा डोट्याली, रानाथारु, बैतडीले, अछामी र बझाङ्गी भाषालाई स्थान दिइएको छ । तर, रानाथारु भाषा भने त्यसमा समेटिएको छैन ।

प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधार पूरा गर्ने अवस्थामा रहेका डोट्याली र थारुलाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आयोगले सिफारिस गरेको छ ।

नेपाल रानाथारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिन आग्रह गरेको थियो । उनीहरूले भाषा आयोगको प्रतिवेदनप्रति विरोध समेत जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ३ लाख बढी रानाथारु समुदायका नागरिकको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्