Logo
Logo

१५ करोडको लगानीमा ‘वाटर किङडम’ निर्माण शुरु



काठमाडौं । चितवन । चितवनको पर्यटक नगरी रत्ननगरमा १५ करोड रुपैयाँको लगानीमा वाटर किङडम निर्माण प्रक्रिया शुरु गरिएको छ ।

सो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटकलाई आकर्षण गर्न पानीसँग सम्बन्धित गतिविधिका पूर्वाधार बनाउन लागिएको हो ।

वाटर किङडम बालबालिकाको लागि चिप्लेटीदेखि पर्यटकका लागि बन्द हलभित्र कृत्रिम हिउँ पार्ने सम्मको पूर्वाधार निर्माण हुने बताइएको छ । ९ महीनामा निर्माण सम्पन्न गर्ने गरी वडा नम्बर ८ को बाघमारामा उक्त वाटर किङडम निर्माण शुरु गरिएको हो ।

किङडमको डीपीआर तयार गरी ठेक्का प्रक्रियाको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी दिएको छ । रत्ननगर नगरपालिकाको १० करोड ५० लाख रुपैयाँ र केन्द्र सरकारको ४ करोड ५० लाख रुपैयाँको लगानीमा वाटर किङडम निर्माण हुने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

गिरीका अनुसार सौराहाको पर्यटन विकासको लागि निकटमा रहेको बाघमारा स्थित चार विघा क्षेत्रफलमा वाटर किङडम निर्माण हुनेछ । वाटर किङडममा तीन ओटा कृत्रिम पोखरी, स्विमङ पुल, ६० देखि ६५ मिटरको ६ ओटा चिप्लेटी, पानी डान्स, गर्मी छल्न हल भित्र कृत्रिम हिउँ, रोटे पीङ लगायतका आकर्षक पूर्वाधार निर्माण हुने उनले बताए ।

सौराहा आउने पर्यटकलाई नयाँ अनुभूति दिन वाटर किङडम निर्माण शुरु गरिएको मेयर नारायण वनले बताए । ‘सौराहाले नयाँ स्वाद खोजिरहेको छ उनले भने हामी रमणीय ठाउँ बनाएर पर्यटकलाई आनन्द दिनेछौं र यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन समेत मदत गर्नेछ ।’ सो नगरपालिकाले वाटर किङडम निर्माण गरी सञ्चालनको लागि निजी संस्था, व्यक्ति वा कम्पनीलाई जिम्मा दिने योजना बनाएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्