Logo
Logo

मोबाइल बैंकिङमा राष्ट्र बैंकले तोक्यो नयाँ शुल्क



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ कारोबारमा नयाँ शुल्क तोकेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा जोड दिँदै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो बनाएको हो ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

५० हजार भन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख रुपैयाँ भन्दा माथि ३० रुपैयाँ शुल्क लाग्नेछ । मोवाइल बैंकिङबाट अर्को बैंकको खातामा रकम पठाउदा यस अघि बैंकहरुले आफै शुल्क निर्धारण गरेका थिए । यसअघि बैंकहरुले सानो रकम पठाउँदा समेत २० रुपैयाँ भन्दामाथि शुल्क लिने गरेका थिए ।

राष्ट्र बैंकले एटीएम प्रयोगकर्ताका लागि पनि सहज बनाइदिएको छ । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रति महिना दूई वटासम्म कारोबार निःशुल्क हुने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ ।

यसका अलवा बैंकहरुले प्रतिकारोबार २० रुपैयाँ भन्दा बढी लिन पाउने छैनन् । कोरोना रोकथाम तथा नियन्त्रणका बेला राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो । प्रति कारोबार २५ रुपैयाँदेखि एक सयसम्म शुल्क लिने गरेका बैंकहरुले अब भने अधिकतम २० रुपैयाँमात्रै लिन पाउनेछन् । साथै, बैंकहरुले विद्युतीय कारोबारमा लाग्ने शुल्कको जानकारी वेवसाइटमै राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्