Logo
Logo

हिमालय एयरलाइन्सका जहाज जीवनदायी ‘एइडी’सहित उड्ने



काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नीजि कम्पनीको विमान हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ ।

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुने हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।

यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एकमात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितब्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।

के हो एइडी मेसिन ?

यात्रुको हृदयको गति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ । उडानको बेला यात्रुमा यस्तो समस्या आइ हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो प्रविधि उपयोगि मानिन्छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटरले ज्यान जोखिममा परेका यात्रुहरुलाई पुर्नजीवन दिने भएकाले उडान यात्राभर यसको विशेष महत्व हुन्छ । हृदयको गति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यात्रुको जीवन रक्षाका लागि जहाज फर्काउनुको विकल्प हुँदैन । तर, यो मेसिन जडानपछि अब हिमालय एयरलाइन्सले यस्तो समस्या भोग्ने छैन । जहाजमै एइडी सेवामार्फत उपचार हुने भएको छ ।

सबै कर्मचारीलाई तालिम र विमानस्थलमा जडान

एयरललाइन्सले आफ्ना सबै उडान कर्मचारीलाई उक्त मेसिनको प्रयोगबारे तालिम दिइसकेको छ । एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्