Logo
Logo
नक्कली अन्तः शुल्क स्टीकर प्रकरण

धनगढी वेस्टर्न लिकर्सका सञ्चालकसहित ७ जना कारागार चलान


हिक्मत बम


धनगढी । नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका धनगढी वेस्टर्न लिकर्सका सञ्चालकसहित सात जनालाई कारागार चलान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय कैलालीले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालकसहित सात जनासंग ५१ करोड बढी धरौटी माग गर्दा धरौटी नबुझाएपछि सातै जनालाई कारागार चलान गरिएको जनाएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड तीन लाख धरौटी मागिएको थियो ।

सूचना अधिकारी हिरानन्द देवकोटाले सात जनाबाट जनही सात करोड २९ लाखका दरले धरौटी माग गरिएपनि रकम तिर्न नसकेपछि सबै कारागार चलान भएको जानकारी दिए ।

वेष्टर्न लिकर्स प्रालिले ५० युपीको सस्तो मदिरा उत्पादन गर्दै आएको थियो । प्रहरीले साउन अन्तिम साता आन्तरिक राजस्व विभागको स्टीकरसहित सुरुमा पाँच जनालाई पक्राउ गरेको थियो ।

जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारत बस्ने वर्ष १९ का संजित कुमार, वर्ष २० का रिङ्कु कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने वर्ष ४० का राजकुमार शाह, पर्सा विरगंज नगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ का विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारत बस्ने वर्ष २२ का सुरेशकुमारलाई पक्राउ परेका थिए ।

त्यसपछि उद्योग सञ्चालक र लेखापाललाई पनि पक्राउ गरिएको थियो । मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ स्थित तालबन्द सडकखण्डमा सुरक्षा जाँच गर्दा आन्तरिक राजस्व विभाग लेखिएको ७७ रोल स्टीकर फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टीकरका रोलहरुमध्ये १३ रोल स्टीकरमा एउटै सिरियल नम्बर भेटिएको थियो । आन्तरिक राजश्व कार्यालय धनगढीसंग समन्वय गर्दै प्रहरी टोलीले वेष्टर्न लिकर्स प्रालि (मदिरा उद्योग) सिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्