Logo
Logo

साेमबारदेखि काठमाडाैंमा भेरोसेलको दोस्रो डोज लगाइने



काठमाडौं । काठमाडौं जिल्लामा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गते (साेमबार)देखि लगाइने भएको छ ।

पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।

यस्तै, कीर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरी नगरपालिकाका १५, नागार्जुन नगरपालिकाकाको १०, तारकेश्वर नगरपालिकाको ११ ठाउँमा खोप केन्द्र तोकिएको छ। दक्षिणकाली नगरपालिकाको ९, बुढानीलकण्ठ नगरपालिकाको १३, टोखा नगरपालिकाको ११, गोकर्णेश्वर नगरपालिकाको ९, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा थप खोप केन्द्र तोकिएको छ।

दोस्रो डोज खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड देखाएर आफ्नो नजिकको खोप केन्द्रमा जान सकिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

आज सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको छ । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।

प्रतिक्रिया दिनुहोस्