Logo
Logo
सुदूरमा सास्ती

उपचारका लागि पालो कुर्दाकुर्दै ९५ जनाको मृत्यु


हिक्मत बम


धनगढी । सुदूरपश्चिममा मिर्गौला रोगीको उपचार सहज नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

सेती प्रादेशीक अस्पतालमा मिर्गौला रोगीको उपचार भएपनि दक्ष जनशक्ति नहुँदा र भएका उपकरण पनि सञ्चालनमा नल्याइदा मिर्गौलाका बिरामीले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्यता छ । विरामी महिनौ कुर्दा पनि उपचार नपाउने समस्याछ ।

कैलालीकी मिर्गौला रोगी प्रभा चौधरी हप्तामा दुईपटक डायलासीस गर्न सेती प्रादेशिक अस्पताल धाउँछन् । २४ वर्षको उमेरमै दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनले अस्पताल धाउन लागेको ४ वर्ष बितिसक्यो । कहिले आफन्तको साथमा त कहिल्यै एक्लै गौरीगङ्गा नगरपालिकाको चौमालाबाट अस्पताल पुग्छन् ।

चार वर्षअघि बिरामी भएर थला परे, खान मन नलाग्ने, हात खुट्टा सुनिने, वाकवाकी हुने भइरहेको थियो । गाउँकै अस्पतालमा जाँदा धनगढी जान भनियो । सेती प्रादेशिक अस्पतालमा चेकजाँच गर्दा मिर्गौला फेल भएको थाह पाए । अस्पताल धाउन थालेको चार वर्ष भयो, हप्तामा दुईपटक डायलासीस गरिरहेकी छु, बाचुन्जेल डायलासीस गर्नुपर्दाै रहेछ । तर, अस्पतालमा उपचार पाउनै समस्या छ, अस्पतालमा डायलासीस गर्न पाउने अवस्था नै छैन ।

कञ्चनपुरको लालझाँडीकी ४० वर्षीया आस्मा राना ६ सन्तानकी आमा हुन् । छैठौँ सन्तानलाई जन्म दिन सेती प्रादेशिक अस्पताल धनगढी पुगेका आस्मालाई सुत्केरी अवस्थामै मिर्गौलामा समस्या देखियो ।

त्यसपछि चिकित्सकको सल्लाहमा उनलाई सेती प्रादेशिक अस्पतालमा रहेको डायलासिस कक्षमा लगियो । चेक जाँचको क्रममा उनकोे मिर्गौलाले काम गर्न छोडेको पुष्टि भयो । त्यसयता उनी डायलासीसका लागि पालो कुरिरहेका छन् ।

सेवा प्रभावकारी नहुँदा सहज छैन उपचार

प्रभामा मिर्गौलासम्बन्धी समस्या देखिँदा सुदूरपश्चिममा उपचार सम्भव थिएन् । नयाँ जीवन पाउने आसमा उनी उपचारका लागि भारत गए । त्यतीखेर सेतीमा डायलासीसको व्यवस्था पनि थिएन् । भारतमै उनले डायलासीससँगै फिस्टुला भरेर एक वर्ष उतै उपचार गराए । सेतीमा डायलासीस सेवा सुरु भएपछि उनले यतैबाट सेवा लिन थालेका हुन् । त्यतीबेला उनको १० लाख बढी रकम खर्च भइसकेको थियो ।
‘जीवनभर डायलासीस नै गर्नुपर्ने रहेछ, हामीलाई मिर्गौला त कसले दिन्छ ?’, प्रभाले भने, ‘उपचार गर्दा गर्दै कुन दिन अस्पतालकै शय्यामा ज्यान गुमाउनुपर्ने हो ।’

सुदूरपश्चिम प्रदेशमा मिर्गौलाको उपचार सहज छैन । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासीसको सुविधा भएपनि प्रभावकारी नबन्दा समस्या भइरहेको छ । सहजै उपचार सम्भव नभएपछि मिर्गौला पीडितहरू जीवन र मरणको दोसाँधमा छन् । सरकारले डायलासीस सेवा निःशुल्क गरे पनि त्यसको कार्यान्वयन भएको छैन । फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव हुँदा अस्पतालको शय्यामै प्राण त्याग्नु पर्ने बाध्यता उनीहरूको छ ।

सेती प्रादेशिक अस्पतालमा डायलासीस सेवा उपलब्ध भए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ, नेपालगन्ज वा भारत नै जानुपर्ने बाध्यता छ । डाइलासीस सेवा पाउन निकै कठिन भइरहेको कञ्चनपुरकी आस्मा राना बताउँछन् । ‘सरकारले निःशुल्क भनेको डायलासीस प्रदेशमा शुःल्क तिरेर पनि पाउने सक्ने अवस्था छैन, पालो कुर्दा कुर्दै धेरैको ज्यान गइसक्यो’, उनले भने, ‘पालो नपाएरै मरिने हो कि भन्ने चिन्ता छ ।’

सेती अस्पतालमा डायलासिस गराउन नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि सम्पर्कविहीन छन् । तीन वर्ष अगाडि मात्रै सेती अस्पतालमा डायलासीसका लागि २ सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रूपमा २८ जनाले मात्रै सेवा पाइरहेका छन् ।

दक्षा जनशक्ति र उपकरणको अभाव

विगतमा सेती अस्पताल आफैँले डायलासीस सञ्चालन गरे पनि २०७४ को चैतदेखि भने निजी क्षेत्रको विरङ्ग हेल्थ केयरले सञ्चालन गर्दै आएको छ । अस्तालसँगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिएपनि बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसिनहरू थप गर्ने उल्लेख गरिएको थियो । तर, अहिले ८ वटा मेसिन मात्रै सञ्चालनमा छन् ।

डायलासीसका लागि सेती अस्पतालमा नाम दर्ता गराएका ४ सय ५० मध्ये ९५ भन्दा बढीले पालो नपाउँदै ज्यान गुमाएको अस्पताल स्रोतले जनाएको छ । झण्डै एक सय ३० जना बिरामी भने सुदूरपश्चिम बाहिर डायलासिस गराइरहेको पनि जनाइएको छ ।

सेती प्रादेशिक अस्पतालसँग १० मेसिनबाट डायलासीस सेवा सञ्चालन गर्ने सहमति गरेको विरङ्ग हेल्थ केयर सेन्टरले सहमति कार्यान्वयन गरेको छैन । अहिले २ मेसिन बिग्रिएका छन् । उपचारको लागि अस्पताल पुग्ने गरेका बिरामी र आफन्तहरूले निकै सास्ती खेप्नु परिरहेको छ ।

एकतिर डायलासीसका लागि पालो कुर्नुपर्ने बाध्यता छ भने अर्कोतिर डायलासीस गराउँदा आवश्यक औषधिसम्म अस्पतालको फार्मेसीमा पाइँदैन । निःशुल्क डायलासिसको लागि सरकारी कार्यालयबाट सिफारिस बोकीँ अस्पताल पुगेकाहरू पनि चर्को मूल्य तिर्दै निजी मेडिकलहरूबाट औषधि खरिद गर्न बाध्य छन् । मिर्गौलाको स्थिति जान्नका लागि विशेषज्ञ डाक्टर नै नहुँदा समस्या झन् बढेको छ ।

छोरीको डायलासीसका लागि सेती प्रादेशिक अस्पताल पुगेकी चुरे गाउँपालिकाकी रेखा बिकले अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकल धाउनुपर्ने बाध्यता रहेको बताए । निःशुल्क सेवाका लागि स्थानीय सरकारबाट सिफारिस पत्र बनाएर अस्पताल पुगेपनि आफ्नो लाखौँ रकम खर्च भइसकेको उनको दुखेसो छ ।

अस्पतालको फार्मेसीमा बिरामीको रगत बढाउने औषधिसम्म नपाइने उनी बताउँछन् । अस्पतालका फार्मेसी अधिकृत महेश शाहले पनि डायलासीसको लागि आवश्यक सबै औषधि फार्मेसीमा नरहेको जानकारी दिएका छन् ।

अस्तव्यस्त जीवन शैलीका कारण मिर्गौलासम्बन्धी रोगीहरू बढेका छन् । पत्थरी, मधुमेह, उच्च रक्तचाप र अव्यवस्थित जीवनशैलीका कारण नै किड्नी फेल हुने गरेको डा. शेरबहादुर कमर बताउँछन् । यो समस्याबाट बच्न खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उनको भनाइ छ ।

सुदूरपश्चिममा ३० हजारको हाराहारीमा मिर्गौला पीडित रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर मिर्गौलाको उपचारका लागि भने प्रदेश सरकारले कुनै पहल गरेको छैन । सेती अस्पताल बाहेक प्रदेशका अन्य कुनै अस्पतालमा यो सेवा उपलब्ध छैन । प्रदेशमै मिर्गौलाको सहज उपचारका लागि प्रदेश सरकारले पहल गर्न सकेको छैन । यद्यपि सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने पहल भइरहेको बताएका छन् । मिर्गौलाको फिस्टुला भर्नसमेत बाहिर जान नपर्ने गरी गृहकार्य सुरु भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्